नेभिगेशन
आइतबार, कात्तिक २२, २०८३

दरबारमार्गको लाउन्ज बारमा लागेको आगो चार घण्टापछि निभाइयो

काठमाण्डौ- काठमाण्डौको दरबारमार्गमा रहेको लिक्विड लाउन्ज बारमा आज बिहान लागेको आगो झण्डै ४ घण्टापछि निभाइएको छ ।

महेन्द्र शालिक नजिकै रहेको लाउन्ज बारमा बिहान पौने ९ बजेतिर आगलागी भएको हो । आगलागीको सूचना पाएपछि शुरुमा दुईवटा दमकल परिचालन गरिए पनि पछि दमकलको सङ्ख्या बढाएर पाँच पुर्‍याइएको थियो ।

काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक बसन्त थपलियाका अनुसार पाँच वटा दमकल प्रयोग गरेर आगो निभाइएको हो । लाउन्ज बारका सञ्चालक भने अहिलेसम्म सम्पर्कमा आएका छैनन् । जसकारण झ्याल तथा ढोका फुटाएर आगो नियन्त्रणमा लिइएको हो ।

आगलागी हुँदा बारभित्र कोही पनि नरहेको र बार सञ्चालकलाई सम्पर्क गरी घटनास्थल बोलाउने प्रयाससमेत भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट भएको भौतिक क्षतिको यकिन विवरण आउन बाँकी छ ।

प्रकाशित मिति:
थप समाज