नेभिगेशन
आइतबार, कात्तिक २२, २०८३

तीन वटा सुरक्षा निकायले छुटाछुटै कार्यक्रम गरी कुकुर तिहार मनाए

काठमाण्डौ - तीन वटा सुरक्षा निकायहरू नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले छुटाछुटै कार्यक्रम गरी कुकुर तिहार मनाएका छन् ।

नेपाली सेनाले कुकुर तिहारको अवसरमा विशेष ‘डग शो’ प्रदर्शनी आयोजना गरेको छ । मध्यपुर थिमीमा रहेको भैरव वाहन गुल्ममा आयोजित कार्यक्रममा कुकुरको पूजा गरी सेनाले उनीहरूको कला कौशल समेत प्रस्तुत गरेको हो । प्रदर्शनीमा तालिमप्राप्त कुकुरहरूले खोज तथा पहिचान, ट्रयाकिङ, सुरक्षा र शङ्कास्पद वस्तु पहिचान लगायतका सीप प्रदर्शन गरेका थिए ।

सीमित स्रोत र साधनकाबीच कुकुरलाई विशेष तालिम दिएर जिम्मेवारी निर्वाह गराउनु चुनौतीपूर्ण भएको नेपाली सेनाको प्रबन्ध रथी विभागका विभागीय प्रमुख उपरथी हरेन्द्र पाठकले बताउनु भयो ।

यस्तै सशस्त्र प्रहरीले बलम्बुमा रहेको पशु स्वास्थ्य तथा डग ह्यान्डलर उपशाखामा कुकुर तिहार मनाएको छ । सशस्त्र प्रहरी बल नेपालले आफ्ना कुकुरहरूको निष्ठा, साहस, अनुशासन, वफादारी र राष्ट्रको सुरक्षा तथा जनधनको संरक्षणमा अतुलनीय योगदान पुर्‍याएको र त्यसको सम्मान गरेको जनाएको छ ।

यस्तै नेपाल प्रहरीले प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा एक कार्यक्रमको आयोजना गरी कुकुर पूजा गरेको छ । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले शान्ति सुरक्षा र अपराध अनुसन्धान तथा खोज कार्यमा कुकुरको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

गएको भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट हराएका झण्डै २४ वटा शव कुकुरकै सहायतामा पत्ता लगाउन सहज भएको जानकारी दिनुभयो ।  

प्रकाशित मिति:
थप समाज