नेभिगेशन
आइतबार, कात्तिक २२, २०८३

आज लक्ष्मीपूजाका बेला २ हजार मेगावाटसम्म विद्युत माग हुने अनुमान

काठमाण्डौ - नेपाल विद्युत प्राधिकरणले आज लक्ष्मीपूजाका बेला बेलुका १९ सयदेखि २ हजार मेगावाटसम्म विद्युत माग हुने अनुमान गरेको छ ।

नदीहरूमा पानीको बहाव राम्रो रहेको र पर्याप्त उत्पादन क्षमता भएकाले विद्युत आपूर्तिमा कुनै समस्या नआउने प्राधिकरणको दाबी छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार अहिले नेपालसँग २७ सयदेखि २८ सय मेगावाटसम्म विद्युत उपलब्ध गराउने क्षमता छ ।

लक्ष्मीपूजाका दिन घरघरमा बत्ती बालिने भएकाले घरायसी खपत बढे पनि धेरैजसो उद्योग कलकारखाना बन्द रहने भएकाले कुल माग सहजै व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो । गएको वर्ष लक्ष्मीपूजाको दिन विद्युतको पिक लोड झण्डै १६ सयदेखि १७ सय मेगावाट मात्रै रहेको थियो ।

माग सहजै धान्न सकिने भए पनि घरायसी खपत अत्यधिक बढ्दा मिटर र एमसीबीमा भार परी ट्रिप हुने वा मिटर जल्ने जस्ता प्राविधिक समस्या आउन सक्ने चेतावनी प्राधिकरणले दिएको छ ।

सम्भावित समस्या तत्काल समाधान गरी विद्युत आपूर्ति निरन्तर राख्न देशभरका वितरण केन्द्रका प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ । 

प्रकाशित मिति:
थप समाज