नेभिगेशन
शुक्रबार, कात्तिक २७, २०८३

टर्कीएमा संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेससँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता

काठमाण्डौ – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा टर्कीए अन्ताल्यामा उहाँहरूबीच द्विपक्षीय भेटवार्ता भएको हो ।

भेटका अवसरमा परराष्ट्रमन्त्री खनालले हालैको जलवायुजन्य भोटेकोशी बाढीपछि नेपालप्रति समवेदना र ऐक्यबद्धता व्यक्त गर्नुभएकामा महासचिव गुटेरेसप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले संयुक्त राष्ट्रसङ्घको नेतृत्व गर्दै बहुपक्षीयता, विश्व शान्ति, मानवीय गरिमा र दिगो विकासका लागि महासचिव गुटेरेसले पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्नुभयो । त्यस अवसरमा महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनमा सेना तथा प्रहरी पठाउने प्रमुख राष्ट्रका रूपमा नेपालले विश्व शान्ति र स्थायित्वमा पुर्‍याउँदै आएको महत्त्वपूर्ण योगदानको सराहना गर्नुभयो ।

भेटमा दुवै पक्षबीच भोटेकोशी बाढीपछि पुनःस्थापना तथा पुनर्निर्माण प्रयास, विश्वव्यापी शासन प्रणालीमा सुधारको आवश्यकता, बहुप्रकोप पूर्वसूचना प्रणाली, जलवायु वित्तमा वृद्धि तथा जलवायु कार्यका विषयमा समेत विचार आदानप्रदान भएको थियो ।

भेटमा क्षेत्रीय तथा विश्वव्यापी महत्त्वका विषयमा छलफल हुनुका साथै जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्य र बहुपक्षीय प्रयासलाई थप प्रभावकारी बनाउने विषयमा समेत कुराकानी भएको छ ।
 

प्रकाशित मिति:
थप राजनीति