नेभिगेशन
सोमबार, कात्तिक ३०, २०८३

अस्ताउँदाे सूर्यलाई अर्घ्यसहित पूजाआजा

काठमाण्डाै – छठ पर्वको मुख्य दिन आज विभिन्न छठघाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा र भक्तिपूर्वक पूजा–आराधना गरेका छन् ।

हिजो खरना विधि सम्पन्न गरी आज दिनभर निर्जल तथा निराहार व्रत बसेका व्रतालुले अघि बेलुका बाँसको सुपली र ढकनीमा सजाइएका नरिवल, उखु, केरा, ठेकुवा, फलफूललगायतका पूजासामग्रीसहित अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका हुन् । अघि बेलुका ५ बजेर ११ मिनेटमा सूर्यास्त भएको हो ।

chhath-(7)-1794742115.jpg

अब आज रातभर जागा बसी भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि व्रतालुले प्रसाद ग्रहण गरी आफ्नो कठोर व्रत समापन गर्छन् । भोलि बिहान ६ बजेर २५ मिनेटका सूर्योदय हुनेछ ।

छठ पर्वलाई परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा आरोग्यको कामना गर्दै मनाइने विशेष पर्वका रूपमा लिइन्छ । यस पर्वले धार्मिक आस्थासँगै सामाजिक एकता, सद्भाव र प्रकृतिप्रतिको सम्मानलाई समेत उजागर गर्दछ ।

chhath-1794742116.jpg

केही वर्षअघिसम्म तराईका सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ । २०४६ देखि सरकारले छठ पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको छ । यस वर्ष सरकारले उदाउँदो सूर्यलाई अर्घ्य दिने दिन अर्थात् भोलि पनि सार्वजनिक बिदा दिएको छ ।

छठ पर्वका अवसरमा तराई, मधेशसँगै काठमाण्डौ उपत्यका र अरू ठाउँका नदी, पोखरी तथा जलाशय झकिझकाउ बनाइएका छन् । छठघाटहरूमा व्रतालुसँगै दर्शनार्थीहरूको ठूलो भीड लागेको छ ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल काठमाण्डौको गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवम् अर्घ्यदान गर्नुभएको छ । छठ पर्वका अवसरमा राष्ट्रपतिले हरेक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रही आएको छ ।

प्रकाशित मिति:
थप समाज