नेभिगेशन
सोमबार, कात्तिक ३०, २०८३

विश्वव्यापी तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसभित्र राख्ने लक्ष्यमा राष्ट्रहरूबीच मतभेद

काठमाण्डौ – टर्कीएको अन्ताल्यामा चलिरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन ‘कोप–३१’ मा विश्वव्यापी तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्यलाई लिएर राष्ट्रहरूबीच तीव्र मतभेद देखिएको छ ।

जलवायु परिवर्तन नियन्त्रणको प्रमुख आधार मानिएको यो लक्ष्यलाई निरन्तरता दिने वा हटाउने भन्ने विषयमा देशहरू विभाजित भएका हुन् । हालसम्म पृथ्वीको औसत तापक्रम झण्डै १ दशमलव ४ डिग्री सेल्सियसले बढिसकेको छ ।

सम्मेलनमा विशेषगरी जलवायु परिवर्तनको उच्च जोखिममा रहेका साना टापु राष्ट्रहरूले १ दशमलव ५ डिग्रीको लक्ष्य कायम राख्नुपर्ने बलियो अडान लिएका छन् । प्रशान्त महासागरमा रहेको पलाउका राष्ट्रपति सुराङ्गेल ह्विप्स जुनियरले यो लक्ष्य आफ्नो देशको खाद्य सुरक्षा, अर्थतन्त्र र सार्वभौमिकतासँग जोडिएको बताउनुभएको छ ।

अस्ट्रेलियाले सार्वजनिक गरेको विवरणअनुसार केही देशहरूले अन्तिम सम्झौतामा यो लक्ष्यलाई स्पष्ट रूपमा समेट्न माग गरेका छन् । तर, साउदी अरब र भारतलगायतका देशहरू संलग्न समूहले भने सम्झौताबाट यो लक्ष्य हटाउने प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ ।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तापक्रम १ दशमलव ५ डिग्रीभन्दा माथि पुगे पनि त्यसलाई सकेसम्म छोटो समयमै नियन्त्रणमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

वैज्ञानिकहरूले तापक्रमले यो सीमा पार गरेमा भीषण बाढी, अत्यधिक गर्मी र प्राकृतिक विनाशजस्ता गम्भीर जोखिम बढ्ने चेतावनी दिएका छन् ।

यसका लागि हरितगृह ग्यास उत्सर्जनमा तीव्र कटौतीसँगै वृक्षरोपण, सिमसार संरक्षण र नयाँ प्रविधिको व्यापक प्रयोग आवश्यक रहेको वैज्ञानिकहरूको भनाइ छ । 
 

प्रकाशित मिति:
थप समाज