नेभिगेशन
शनिबार, मंसिर ५, २०८३

जङ्गली हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम

काठमाण्डौ - झापाको उत्तरी क्षेत्रमा जङ्गली हात्तीको अत्यधिक त्रासका कारण किसानहरू रातभर जाग्राम बस्न बाध्य भएका छन् ।

भारततर्फबाट हुल बाँधेर आउने हात्तीले पाकेको अन्नबाली नष्ट गर्नुका साथै घरसमेत भत्काउन थालेपछि स्थानीयवासीको जिउधन असुरक्षित बन्दै गएको हो । गएको शुक्रबार रातिमात्रै अर्जुनधारा नगरपालिका–६ की खेमकुमारी श्रेष्ठको मकैबारीमा पसेका दुईवटा हात्तीले बाली पूर्ण रूपमा नष्ट गरिदिएका छन् ।

हात्तीको त्रासले गर्दा अहिले यस क्षेत्रका किसानले सुरक्षाकर्मीको पहरामा बाली भित्र्याउनुपर्ने बाध्यता छ । मेचीनगरका किसान लक्ष्मी घिमिरेका अनुसार खेतबाट धान काटेर ल्याए पनि भकारीमा थन्क्याएको अन्न जोगाउनै मुस्किल छ । हात्तीले घरकै भित्ता फोडेर धान खान थालेको उहाँले बताउनुभयो ।

डिभिजन वन कार्यालयका अनुसार हात्तीको परम्परागत जैविक मार्ग अवरुद्ध हुनु र विद्युतीय तारबार बिग्रनुले समस्या झनै जटिल बनेको हो । स्थानीय बासिन्दाले तारबारको तत्काल मर्मत गर्न र क्षतिपूर्ति उपलब्ध गराउन तीनै तहका सरकारसँग माग गरेका छन् । 

प्रकाशित मिति:
थप समाज