नेभिगेशन
शुक्रबार, मंसिर ११, २०८३

विश्वभर हरेक वर्ष १ करोड २० लाख बालविवाह हुने गरेको तथ्याङ्क

काठमाण्डौ – विश्वभर हरेक वर्ष झण्डै १ करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसंघले बालविवाह तथा जबर्जस्ती विवाह अन्त्यका लागि विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ । आज नोभेम्बर २७ अर्थात् बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह अन्त्यसम्बन्धी पहिलो अन्तरराष्ट्रिय दिवस मनाइँदैछ ।

राष्ट्रसङ्घको महासभाले गएको सेप्टेम्बर ४ मा प्रस्ताव पारित गरी हरेक वर्ष नोभेम्बर २७ लाई यस दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । राष्ट्रसङ्घका अनुसार सन् २०२६ सम्म विश्वमा जीवित रहेका झण्डै ६५ करोड महिला तथा बालिकाको विवाह १८ वर्ष उमेर नपुग्दै भएको थियो ।

विश्वभर हरेक पाँचमध्ये एक बालिकाको बाल्यकालमै विवाह हुने गरेको छ । तथ्याङ्कअनुसार हरेक तीन सेकेन्डमा एक बालिका बालविवाहको सिकार हुने गरेकी छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बालविवाहले लाखौँ बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा गम्भीर असर पारिरहेको बताउनुभएको छ ।

पछिल्लो २५ वर्षमा शिक्षा, सामाजिक संरक्षण र कानुनी सुधारका प्रयासबाट झण्डै ६ करोड ८० लाख बालविवाह रोक्न सफलता मिलेको छ । राष्ट्रसङ्घीय बालकोष युनिसेफका उपकार्यकारी निर्देशक टेड चाइबानले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य हासिल गर्न वर्तमान प्रयासको गति २० गुणा बढाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रसङ्घका अनुसार विश्वमा बालविवाहको सबैभन्दा ठूलो भार दक्षिण एशियाले बेहोर्दै आएको छ । विश्वभर बालविवाहमा परेका महिला तथा बालिकामध्ये ४४ प्रतिशत अर्थात् करिब २८ करोड ५० लाख दक्षिण एशियामा छन् । 

प्रकाशित मिति:
थप समाज