नेभिगेशन
आइतबार, मंसिर १३, २०८३

सातै प्रदेशमा विशेषज्ञ डाक्टर खटाइयो

काठमाण्डौ – सरकारले सातै प्रदेशमा विशेषज्ञ चिकित्सक खटाएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी, एमएस र एमडीएस उत्तीर्ण ८३८ विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशमा खटाएको हो । यसबाट विशेषज्ञ उपचारका लागि काठमाण्डौ तथा ठूला शहर धाउनुपर्ने बाध्यता कम हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा २०८, कोशीमा १५४, लुम्बिनीमा १३३, गण्डकीमा १२९, मधेशमा ८६, सुदूरपश्चिममा ७६ र कर्णालीमा ५२ जना चिकित्सक खटाइएको छ ।

संघीय सरकारले प्रदेशमा पठाएका यी चिकित्सकलाई सम्बन्धित प्रदेश सरकारले आफ्नो आवश्यकता, प्राथमिकता र कार्ययोजनाका आधारमा पालिकाका स्वास्थ्य संस्थामा समेत खटाउन सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

विशेषज्ञ चिकित्सकको उपलब्धताले विशेषगरी सुरक्षित प्रसूति सेवा, शल्यक्रिया र आकस्मिक उपचारलाई प्रभावकारी बनाउन सहयोग पुग्ने स्वास्थ्य मन्त्रालयको विश्वास छ ।

प्रकाशित मिति:
थप राजनीति