नेभिगेशन
आइतबार, मंसिर १३, २०८३

दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँ : सभापति लामिछाने

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेको पेट्रोलियम तथा मिथेन ग्यास खानी उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताउनुभएको छ ।

हिजो बेलुका जलजलेको ड्रिलिङ क्षेत्रको स्थलगत अवलोकन गर्न पुगेका सभापति लामिछानेले खानीको वर्तमान अवस्थाबारे जानकारी लिनुभयो ।

अवलोकनका क्रममा उहाँले दुई वर्षअघि नै चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ पूरा गरिए पनि एक वर्षयता परीक्षणको काम रोकिँदा करोडौँ मूल्य बराबरका संवेदनशील उपकरणमा खिया लाग्न थालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

सभापति लामिछानेले लामो समयदेखि अड्किएको ‘वेल टेस्ट’ तथा व्यावसायिक उत्पादनको प्रक्रिया अगाडि बढाउन सम्बन्धित मन्त्रालय र विज्ञसँग परामर्श गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रयोगशाला परीक्षणबाट ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डार पुष्टि भएकाले देशको झण्डै ५० देखि ६० वर्षसम्मको माग धान्न सक्ने हुँदा यो कर्णालीको मुहार फेर्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उहाँको भनाइ छ ।

नेपाल र चीनबीचको समझदारीअनुरुप २०७६ साल फागुनमा विस्तृत अन्वेषण सम्झौतामार्फत ४५ रोपनी जग्गा अधिग्रहण गरी परियोजना अघि बढाइएको थियो । 

प्रकाशित मिति:
थप राजनीति