नेभिगेशन
आइतबार, मंसिर १३, २०८३

जन्मजात रोग पहिचान गर्न नवजात शिशु स्क्रिनिङ आवश्यक

काठमाण्डाै – नवजात शिशु स्क्रिनिङ सेवा अझै पनि धेरैजसो बालबालिकाको पहुँचमा पुग्न नसकेको पाइएको छ । शिशुमा लुकेर रहने जन्मजात तथा वंशाणुगत रोग समयमै पहिचान गर्न यो परीक्षण अति आवश्यक मानिन्छ ।

नेपालमा नवजात शिशुको मृत्युदर घटाउने उद्देश्यले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले २०८१ साल असोज २० गतेदेखि यो सेवा औपचारिक रूपमा निःशुल्क शुरू गरेको छ ।

अस्पतालमा अहिले जन्मजात थाइराइड, जी–सिक्स–पीडी र सिस्टिक फाइब्रोसिससहित सात प्रकारका रोगको परीक्षण हुँदै आएको छ ।

अहिलेसम्म १५ हजार शिशुको परीक्षण गर्दा १६५ मा शङ्कास्पद र ५० जनाभन्दा धेरै रोग पुष्टि भइसकेको छ । तर अभिभावकमा पर्याप्त जनचेतनाको कमी र सुत्केरी भएको केही समयमै अस्पतालबाट डिस्चार्ज हुने प्रवृत्तिका कारण वार्षिक २४ हजार शिशु जन्मिने यस अस्पतालमा पनि सबै बालबालिका परीक्षणको दायरामा आउन सकेका छैनन् ।

समयमै रोग पहिचान हुन नसके शिशुको शारीरिक तथा मानसिक विकासमा गम्भीर असर पर्नुका साथै ज्यानै जानेसमेत जोखिम हुन्छ ।

चौथो नेपाल बहुसूचक सर्वेक्षणअनुसार नेपालमा प्रति एक हजार जीवित जन्ममा १७ नवजात शिशुको मृत्यु हुने गरेको छ ।

सन् २०३० सम्म यो दर १२ मा झार्ने दिगो विकास लक्ष्य हासिल गर्न सरकारले अब यो परीक्षण सेवालाई देशव्यापी रूपमा विस्तार गर्ने, नमूना सङ्कलन प्रणाली प्रभावकारी बनाउने र अभिभावकमा जनचेतना अभिवृद्धि गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित मिति:
थप समाज