ताप्लेजुङमा  ५ सय मेगावाट विद्युत उत्पादनका लागि काम सुरु,  ३५ मेगावाट तत्काल राष्ट्रिय प्रशारणमा जोडिने

 भदौ १०, २०७६ मंगलबार ९:३४:१२ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङबाट झण्डै ५ सय मेगावाट बिजुली उत्पादन गर्नको लागि विभिन्न आयोजनाहरुले काम सुरु गरेका छन् । केही आयोजना उत्पादनको अन्तिम तयारीमा छन् । केही आयोजनाबाट उत्पादन सुरु भएका छन् । हिमाली जिल्ला ताप्लेजुङ विद्युत हव नै बन्दै गएको छ । भदौ महिना भित्र नै  ३५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको छ । 

ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने इँवा खोलाबाट ९.९ मेगावाट बिजुली निस्कने अन्तिम तयारीमा छ । अर्को ताप्लेजुङ र पाँचथरको सीमाक्षेत्र भएर बग्ने काबेली नदीबाट काबेली ‘बी–१’ जलविद्युत परियोजनामार्फत २५ मेगावाट क्षमताको जलविद्युत् यसै महिना राष्ट्रिय प्रसारण लाइनमा जडान हुने भएको छ ।

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निर्माण गर्दै आएको इँवा खोला जलविद्युत् आयोजनाको सबै काम पूरा भएर पाँचथरको अमरपुरमा रहेको सबस्टेशनमा प्राविधिक व्यवस्थापन भइरहेको छ ।

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका सूचना अधिकारी टीका मिश्रले नेपाल विद्युत प्राधिकरणले इँवा खोला र काबेली बी दुवैको उत्पादित विद्युतलाई एकसाथ राष्ट्रिय प्रसारणमा जोड्ने गरी सबस्टेशन व्यवस्थापनको काम भइरहेको बताउनुभयो । 

‘इँवा खोलाबाट उत्पादित ९.९ मेघावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा थप गर्ने प्रयासमा हामीले पावरहाउस, मेसिन, टरवाइन, जेनेटर सहितको सफल परीक्षण सकेका छौं’ मिश्रले भन्नुभयो । मिश्रका अनुसार इँवा खोलाबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न हप्ता दिन भन्दा बढी समय लाग्दैन ।

नेपाल विद्युत प्राधिकरणले काबेली ‘बी–१’ र इँवा खोलाबाट उत्पादित विद्युतलाई एकै पटक राष्ट्रिय प्रसारण लाइनमा जडान गर्दा राम्रो हुने भन्दै यही अनुसारको व्यवस्था मिलाउँदै गरेको र दुवैलाई एकसाथ जडान गर्दा भदौ अन्तिम सातासम्म लाग्न सक्ने मिश्रले जानकारी दिनुभयो । 

काबेली बी १ जलबिद्युत परियोजनाले पनि पावरहाउस, मेसिन र टरवाइनको सफल परीक्षण गरिसकेको छ ।  जेनेरेटरमा भने केही समस्या आएकोले बढीमा दश दिनको समय त्यहाँ खर्च हुने र पाँचथरको अमरपुर सबस्टेशनमा पनि इँवा खोला र काबेली ‘बी–१’ परियोजनाबाट उत्पादित विद्युत प्रसारण लाइन जडानको व्यवस्थापन काम पनि भदौ अन्तिम सातामा पूरा हुने मिश्रले जानकारी दिनुभयो  । ताप्लेजुङको सिदिङ्बा गाउँपालिका–४ साब्लाखु र पाँचथरको याङ्वरक–४ थर्पू पुछार काभ्रे–दोभानमा आयोजनाको मुहान् अर्थात बाँध निर्माण भएको र थर्पूको दाहालगाउँ त्रिवेणीमा पावर हाउस (विद्युत गृह) रहेको छ । 

कुल  १ अर्व ६० करोड रुपैंयाँको लागतमा निर्माण भएको आयोजनाका लागि विभिन्न पाँच वटा निजी बैङ्कहरुले लागत रकमको ६५ प्रतिशत लगानी गरेका छन् । निर्माण कम्पनीका अनुसार २०७० साल वैशाखमा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्रीको सम्झौता भएको र २०७१ सालमा ऊर्जा मन्त्रालयले आयोजना निर्माणका लागि अनुमति दिएको थियो ।

उता, ताप्लेजुङ र पाँचथरको सीमाना बग्ने काबेली खोलाबाट उत्पादन गर्न लागिएको २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ जलविद्युत आयोजना अरुण काबेली पावर लिमिटेड कम्पनीद्वारा २०७२ मंसिरदेखि निर्माण सुरु भएको थियो । आयोजनाका जन सम्पर्क अधिकृत डिल्ली सुबेदीका अनुसार करिब पाँच अर्व रुपैंयाँको लागलतमा काबेली बी १ जलबद्युत परियोजना पूरा भएको छ ।

आयोजनाले सुरुमा चार अर्व रुपैयाँ मात्र लागत अनुमान गरेको थियो । आयोजनाका लागि कम्पनीको स्वामित्व सहित संस्थापक शेयरधनीहरुको ७० प्रतिशत, स्थानीय तथा परियोजना प्रभावित क्षेत्रका जनताको १० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको २० प्रतिशत लगानी रहेको छ ।

संस्थागत शेयरवालामा नविल बैङ्क लिमिटेड, लक्ष्मी बैङ्क लिमिटेड, ग्लोबल आईएमई बैङ्क लिमिटेड, एभरेष्ट बैङ्क लिमिटेड र जलविद्युत विकास तथा लगानी कम्पनी लगायत रहेका छन् । 

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं. ६ थुम्बेदिन र पाँचथरको याङ्वरक गाउँपालिका वडा नं. ४ थर्पू पुछार त्रिवेणी दोभानमा आयोजनाको  बाँध स्थल र ५ हजार १ सय मिटर (५.१ किमी) टाढा पाँचथरको याङ्वरक–६ नागीको पिपलबोटेमा पावर हाउस (विद्युत गृह) रहेको छ ।

उता, जिल्लाका विभिन्न नदी तथा खोलाबाट हाईड्रो पावार निर्माणको काम सुरु भएका छन् । मध्यतमोरबाट ७३ मेगावाट जलबिवद्युत आयोजना सुरु भएको छ । सानिमा हाइड्रो पावरले यो आयोजना सुरु गरेको हो । त्यसैगरि २२ मेगावाटको काबेली तेश्रो जलविद्युत अयोजनाको काम पनि सुरुभएको छ । उता, ताप्लेजुङ र संखुवासभाको सिमानाबाट बग्ने तमोर नदिको मुख्य सहायक नदि मेवा खोलाबाट ५० मेगावाट उत्पादन हुने निश्चित भएको छ । पालुङ खोलाबाट २० मेघावाट बिजुली निश्कने पक्का भएको छ । सिवु खोलाबाट पनि बिजुलीको उत्पादन हुने भएको छ । १९ मेगावाट बिजुली उत्पादन हुने सरोकारवालाहरुले बताएका छन् । 

तमोर नदीबाट मात्र चार ठाउँबाट बिजुली उत्पादन हुने बताइएको छ । अपर तमोर जलविद्युत भनेर ३२.५ मेगावाट उत्पादन हुने बताइएको छ । सबै भन्दा ठूलो सुरपर तमोर जलविद्युत आयोजना हुने छ । यो आयोजनाबाट १५५ मेगावाट बिजुली उत्पादन हुने बताइएको छ ।

तमोर नदीबाटै तमोर जलविद्युत आयोजना नाम दिएर ४३ मेगावाट बिजुली उत्पादन हुने योजना छ । यी आयोजना मध्ये कुनै आयोजनाहरु २५ प्रतिशत काम सम्पन्न भएका छन् भने कुनै आयोजनाहरु डीपीआर सम्पन्न भएर ठेक्का प्रकृयामा रहका छन् । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया