महामारीकै बीच सवा चार करोडको लगानीमा काष्ठ उद्योग, स्थानीयलाई रोजगारी

 भदौ २५, २०७७ बिहिबार २०:९:४० | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – कोरोना महामारीका कारण रोजगारी गुमिरहेको बेला ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा चार जना स्थानीय व्यवसायीहरुले काष्ठ (भेनियर) उद्योग सञ्चालनमा ल्याएका छन् । सवा चार करोड रुपैयाँ बढी लगानी गरेर सञ्चालनमा ल्याएको उद्योगले स्थानीयलाई रोजगारी पनि दिएको छ ।

सदरमुकाम फुङ्लिङ बजारका भरत श्रेष्ठ, जङ्ग सुनुवार, दीपक घिमिरे र मौसम भट्टराईले संयुक्त लगानीबाट बजार नजिकै दोखुको हिटीमा भेनियर उद्योग स्थापना गरेका हुन् । ताप्लेजुङ प्लाई एण्ड भेनियर प्रालि नामक संस्था दर्ता गरेर उद्योग स्थापना गरिएको र हाल उद्योगबाट प्लाइउडको कच्चा पदार्थ उत्पादन सुरु भएको सञ्चालक सदस्य भरत श्रेष्ठले बताउनुभयो । अहिले कोरोनाको महामारी भए पनि स्थानीयलाई रोजगारी होस् भनेरै सामाजिक दूरी कामयम गर्दै रोजगार निरन्तर काम चलिरहेको उहाँको भनाइ छ ।

चार जनाले कुल चार करोड २८ लाख रुपैयाँ लगानी गरेर भेनियर उद्योग सुरु गरेका हुन् । फुङ्लिङ नगरपालिका–७ दोखुको हिटी क्षेत्रमा प्रालिको नाममा ७१ रोपनी जग्गा खरिद गरी उद्योग सञ्चालनमा ल्याएको अर्का सञ्चालक सदस्य जङ्ग सुनुवारले बताउनुभयो । कोरोना महामारीकैबीच उद्योग सञ्चालनमा ल्याएर अहिले धमाधम प्लाइउडका लागि कच्चा पदार्थ उत्पादन भइरहेको उहाँले भनाइ छ ।

दैनिक दुई लाख कोर कच्चा पदार्थ उत्पादन गर्ने क्षमताको मेसिन जडान गरिएको र यसबाट तीन सय ५० जनालाई रोजगारी दिने योजना रहेकोमा अहिले एकसय जना स्थानीयले मात्र प्रत्यक्ष/अप्रत्यक्ष रुपमा रोजगारी पाउँदै आएका सञ्चालक सदस्य श्रेष्ठले बताउनुभयो । उद्योगमा उत्तिस, मलातो, चिलाउने, मौवा लगायत प्रजातिका काठहरुको प्रयोग गरिँदै आएको छ । दैनिक आवश्यक पर्ने १५ ट्रयाक्टर काठ सहजै उपलब्ध भइरहेका पनि श्रेष्ठले बताउनुभयो ।

उद्योगबाट उत्पादित कच्चा पदार्थ झापासहित जनकपुर, भैरहवा, बुटवल निर्यात हुँदै आएको छ । अहिले काठमाण्डौबाट समेत माग भइरहेको, तर महामारीले गर्दा मागअनुसार कच्चा पदार्थ निर्यात गर्न नसकेको उहाँहरु बताउनुहुन्छ । 

यहाँ उत्पादन भएको प्लाइउडको कच्चा पदार्थ प्रतिवर्ग फिट (सी.एफ.टी) चार रुपैयाँ र रनिङ फिट (आर.एफ.टी) ४० रुपैयाँले बिक्री हुन्छ । लगानीअनुसार राम्रै फाइदा हुने भए पनि अहिले महामारीको प्रभाव रहेको प्रालिले जनाएको छ ।

उद्योग सञ्चालनमा ल्याउँदा जिल्लाका निजी वन जङ्गलका रुखले राम्रो मूल्य पाउन थालेका छन् । जिल्लाभित्रै भेनियर उद्योग स्थापना भएपछि कतिपय जङ्गलमै खेर जाने गरेको उत्तिस लगायतका रुख बेचेर वन जङ्गलका धनीले पनि राम्रो आम्दानी गर्न थालेका छन् ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया