ओली सरकार आएपछि भ्रष्टाचार मौलाएको माैलाइ : ट्रान्सपरेन्सी

 भदौ २८, २०७७ आइतबार १९:३१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षणमा भ्रष्टाचार मौलाएको आरोप लगाएको छ । 

खुद्रे मुद्दाहरु बोकेर अख्तियारले भ्रष्टाचार नियन्त्रणको डङ्का पिटे पनि प्रधानमन्त्रीको संरक्षणमा ठूला भ्रष्टाचारका काण्डहरु घटेको ट्रान्सपरेन्सी इन्टरनेशनलको आरोप छ । पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयल निगमको जग्गा खरिद प्रकरणको फाइल तामेलीमा राखेपछि ट्रान्सपरेन्सी इन्टरनेशनलले यस्तो आरोप लगाएको हो । 

न्युज एजेन्सी नेपालसँग आइतबार कुराकानी गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष खेमराज रेग्मीले प्रधानमन्त्रीको ओठे प्रतिबद्धता र व्यवहारका कारण भ्रष्टाचारीहरु संरक्षित भएको बताउनुभयो । बालुवाटार जग्गा प्रकरण, सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, ओम्नी प्रकरणमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले उहाँको संरक्षणमा भ्रष्टाचार मौलाएको पुष्टि हुने उहाँको भनाइ छ । 
उहाँले भन्नुभयाे, ‘भ्रष्टाचारको मुल भनेको राजनीतिक नेतृत्व तह हो । तलका खुद्रा, मसिनालाई रोकेर भ्रष्टाचार नियन्त्रण हुने होइन । यो सम्बन्धमा प्रधानमन्त्रीले बेला बखत म भ्र्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्न । शून्य सहनशीलता अपनाउँछु भन्नुभयो तर व्यवहार मा त्यो उतार्न सक्नुभएन । उहाँको भ्रष्टाचारविरुद्धको बोली ओठे प्रतिबद्धता मात्रै देखियो, कार्यान्वयनमा देखिएन । त्यसो होइन भने बालुवाटार जग्गा प्रकरणमा आफ्नो महासचिवलाई कुनै गल्ती गरेको छैन भनेर जोगाउनुभयो ।' 

सेक्युरेटी प्रिन्टिङ प्रकरणमा लेनदेनको अडियो सार्वजनिक हुँदा पनि मन्त्रीले कुनै गल्ती गरेको छैन भनेर ढाकछोप गर्नुभयो । ओम्नीलाई कानुन विपरीत एक मन्त्रीको सल्लाहकारले रातारात दिएको ठेक्का कानुन विपरीत छ । यसमा सुरुमै साँठगाँठ भएर कमिसन खाने नियतले ओम्नी सहमूलाई ठेक्का दिएको देखिन्छ । त्यसमा आदेश दिने उपप्रधानमन्त्री, मन्त्रीको समेत कुनै संलग्नता छैन भनेर उहाँले कसरी भन्न सक्नुभयो रु’, रेग्मीले थप्नुभयाे, ‘उहाँ (ओली) अख्तियार त होइन, उहाँ न्यायाधीश त होइन । प्रधानमन्त्रीको बोलाइ र गराइमा एकरुपता देखिएन । उहाँका नजिक रहेका राजनीतिक र कर्मचारी तहमा भएका मानिसहरुले जति लुटे पनि हुन्छ । हामीले प्रधानमन्त्रीबाट वा सरकारबाट संरक्षण पाउँछौँ । यसमा अख्तियारको पनि केही चल्दैन भन्ने कुरा देखियो ।’

अध्यक्ष रेग्मीले अख्तियार प्रमुखसमेत सरकारको नीति निर्देशनअनुसार काम कारिन्दाका रुपमा परिचित हुँदै गएको बताउनुभयो । अख्तियारका पछिल्ला कदमहरुले अख्तियारको औचित्य छ कि छैन भनेर शङ्का उब्जाएको उहाँको भनाइ छ । ठूला भ्रष्टाचारका मुद्दाहरु ‘तामेली’ मा राख्दै जाने प्रवृत्तिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको औचित्य समाप्त हुने उहाँको चिन्ता छ । उहाँले राजनैतिक नेतृत्व तहको संलग्नता र नीतिगत निर्णयका नाममा हुने ठूला भ्रष्टाचारका मुद्दामा केन्द्रित रहेर भ्रष्टाचारीहरुमाथि निर्मम कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभयो ।

आयल निगमको जग्गा खरिद प्रकरण, वाइडबडी जहाज खरिद प्रकरण, न्यारोबडी जहाज खरिद प्रकरण, नेपाल ट्रस्टको जग्गाहरु यति कम्पनीलाई लिजमा दिएको प्रकरण, सेक्युरिटी प्रेस खरिद सम्बन्धमा तत्कालीन मन्त्रीको अडियो प्रकरण र स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहद्वारा गरिएको व्यापक अनियमिततासम्बन्धी प्रकरणका मुद्दाहरुमा अविलम्ब अनुसन्धान प्रक्रिया सम्पन्न गरी दोषीलाई कारबाही गर्नुको सट्टा फाइल तामेलीमा राखेर बन्द राखेको प्रति उहाँले दुःख व्यक्त गर्नुभयो ।

दोषीमाथि कडा सजायको माग दाबी गरी मुद्दा दायर गर्नुपर्नेमा उल्टै माहामारीको मौका छोपेर गुपचुपमा अरबौँ रुपैयाँभन्दा बढी रकम हिनामिना गर्ने गराउने व्यक्तिहरुलाई उन्मुक्ति दिने गरी मुद्दाको फाइल गरिएको प्रति ट्रन्सपरेन्सी इन्टरनेशनलले ध्यानकर्षणसमेत गराएको छ ।  

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • KAMAL SING BUDHATHOKI

    Sept. 15, 2020, 7:28 p.m.

    खाइसक्यो नेपाल केपीले ...

  •  0 Reply

तपाईको प्रतिक्रिया