विप्लव समूहका केन्द्रीय सदस्य माइला लामा धरौटीमा रिहा

 बैशाख १७, २०७८ शुक्रबार १०:१६:३७ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा - नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्य माइला लामा सङ्खुवासभा  कारागारबाट धरौटीमा छुट्नु भएकाे छ। 

विप्लव समूहका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज समेत रहेका माइला लामा धरौटी रकम बुझाएपछि बिहीवार रिहा हुनुभएकाे सङ्खुवासभाका कारागाार प्रमुख विनोद अधिकारीले बताउनुभयो । उहाँका अनुसार लामा २५ हजार रुपैयाँ धरौटी रकम बुझाएर कारागारबाट छुट्नु भएकाे हाे ।

कारागारबाट रिहाइ भएका लामा आज काठमाण्डौ जाने तयारीमा रहनु भएकाे बुझिएको छ । सरकार र विप्लव समूहबीच गएकाे फागुन २१ गते भएको सहमतिको दुई महिनापछि लामा रिहा हुनुभएकाे हाे । गृह मन्त्रालयले विप्लव कार्यकर्ता रिहा गर्न सर्कुलर गरे पनि उनीहरु छुटेका थिएनन् ।

लामालाई २०७६ साउन ५ मा काठमाण्डौबाट पक्राउ गरी सङ्खुवासभा कारागार ल्याइएकाे थियाे । जिल्ला अदालत सङ्खुवासभाले सङ्गठित रूपमा हातहतियार ओसारपसार, सञ्चय तथा प्रयोग मुद्दामा २५ हजार रुपैयाँ धरौटी माग गरेको थियो ।

सङ्खुवासभा कारागारमा विप्लव कार्यकर्ताहरु लामासहित अन्य ८ जना सङ्खुवासभा इञ्चार्ज देव गुरुङ, जिल्ला सदस्य सुनिता राई रहेका थिए । उनीहरु भने रिहा भएका छैनन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया