तुम्लिङटारमा बुद्ध एअरको ७२ सिटे जहाजको परीक्षण उडान

 जेठ २१, २०७८ शुक्रबार १९:५२:३८ | नवीन गुरुङ
unn.prixa.net

तुम्लिङटारमा परीक्षण उडानका लागि आएको बुद्ध एअरको एटीआर–७२ जहाज । तस्विर— नवीन गुरुङ/उज्यालो )

सङ्खुवासभा – पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको एकमात्र विमानस्थल तुम्लिङटार विमानस्थलमा शुक्रवार बुद्ध एयरको एटीआर–७२ जहाजले परीक्षण उडान गरेको छ ।

खाँदबारी नगरपालिका ९ मा रहेको तुम्लिङटार विमानस्थलमा ७२ सिट क्षमताको बुद्ध एअरको जहाजले परीक्षण उडान गरेको बुद्ध एअर तुम्लिङटार कार्यालयका कर्मचारी राजीव पोख्रेलले बताउनुभयो । परीक्षण उडानमा क्याप्टेन रञ्जनकुमार शर्मा, नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी उपनिर्देशक जनरल भोलाप्रसाद गुरागाईँ, फ्लाइट इन्सपेक्टर क्याप्टेन दधिराम निरौलासहितको टोली शुक्रवार जहाजमा आएका थिए । 

यस विज्ञ टोलीले परीक्षण उडाउन सफल भए/नभएको बारेमा एक हप्तापछि प्रतिवेदन प्राप्त हुने र सफल भए त्यसपछि चाँडै नियमित उडान सुरु हुने पोख्रेलको भनाइ छ ।  

तुम्लिङटारमा १८ सिट क्षमताको बुद्धको जहाजले नियमित रूपमा उडान भर्दै आएको छ । जिल्लाको एकमात्रै विमानस्थल तुम्लिङटार छिमेकी जिल्ला भोजपुरका आधा भागको समेत केन्द्र हो । यहाँ बुद्धका साथै यती एअरले समेत दैनिक तुम्लिङटार—काठमाण्डौ उडान भर्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया