आफ्नै भवन नहुँदा सोलुखुम्बुको सशस्त्र प्रहरी बल नेपाल गुल्म समस्यामा

 मंसिर ११, २०७८ शनिबार १२:२९:४४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको सशस्त्र प्रहरी बल नेपाल गुल्मको आफ्नै भवन नहुँदा समस्या भएको छ ।

झण्डै ४ वर्ष अघि सोलुखुम्बुमा स्थापना भएको सशस्त्र प्रहरी गुल्मको आफ्नै भवन नहुँदा सोलुदूधकुण्ड नगरपालिका-६ दोर्पुको तत्कालीन महिला विकास समितिको साँगुरो भवनमा कोचिएर बस्नुपरेको छ ।

मापदण्ड अनुसार भवन तथा जमिन नहुँदा पीटी, परेड लगायतका दैनिक क्रियाकलापमा समेत समस्या भइरहेको सशस्त्र प्रहरीका डीएसपी दिनेश शर्माले बताउनुभयो ।

उहाँका अनुसार मापदण्ड अनुसार कम्तीमा १५ रोपनी जग्गा आवश्यक पर्ने भए पनि अहिले एक रोपनी जग्गामा खुम्चिएर बस्नुपरेको छ । गुल्ममा १ सय २० जनाको दरबन्दी भए पनि ठाउँ अभाव र दरबन्दी व्यवस्थापन गर्न नसक्दा अहिले ७० जना मात्रै रहेको कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी गुल्मको आफ्नै भवन निर्माणको लागि जग्गाको ठूलो समस्या देखिएको छ । जिल्ला सुरक्षा समितिले जग्गा तथा भवन व्यवस्थापनका लागि प्रधान कार्यालयलाई पत्राचार गरिएको जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया