खोपको पूरा मात्रा लगाएका यात्रुलाई कुवेतले हटायो अनिवार्य पीसीआर र क्वरेण्टीनको नियम

 फागुन ३, २०७८ मंगलबार १३:४४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेतले कोरोनाको दुवै मात्रा खोप लगाएका यात्रुका लागि अनिवार्य पीसीआर परीक्षण र क्वारेण्टीनको नियम हटाउने भएको छ ।

यही फागुन ८ अर्थात् फेब्रुअरी २० देखि लागू हुने गरी कुवेतले कोरोना विरुद्धको खोपको पूरा मात्रा लगाएका यात्रुले प्रस्थान पूर्व र कुवेत पुगिसकेपछि गर्नु पर्ने अनिवार्य पीसीआर परीक्षण र क्वारेण्टीनको नियम हटाएको हिजो बसेको मन्त्री परिषद् बैठकको निर्णयलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यम कुवेत टाइम्सले खबर लेखेको छ ।

यस्तै कुवेतले खोप नलगाएका यात्रुलाई पनि कुवेत प्रवेशको अनुमति दिने निर्णय गरेको छ । तर साथमा कोरोनाको पीसीआर परीक्षण नेगेटिभ भएको ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट हुनुपर्छ भने सात दिन क्वरेण्टीनमा बस्नपर्छ । कोरोनाको खोपको एक मात्रा लगाएका यात्रुको भने पीसीआर रिपोर्ट साथमा नभए पनि हुन्छ तर सात दिन क्वरेण्टीन बस्नपर्छ । क्वरेण्टीनमा बस्दा पीसीआर परीक्षण गर्नपर्छ ।

कुवेत सरकारले महामारी रोकथामका लागि लगाइएका विभिन्न नियमहरू हटाउँदै सामान्यतर्फ अघि बढ्दै गएको उल्लेख गरेको छ ।

आउँदो मार्च १३ देखि सार्वजनिक बसमा पूर्ण क्षमतामा यात्रु राखेर सार्वजनिक सवारी चल्न पाउने र कार्यालय पनि पूर्ण क्षमतामा कर्मचारीका साथ सञ्चालन हुने निर्णय पनि कुवेतले गरिसकेको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया