बुटवलमा एमालेका बाबुराम र कांग्रेसका खेलराजकाे उम्मेदवारी

 बैशाख १२, २०७९ सोमबार ९:१६:५७ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - बुटवल उपमहानगरपालिकामा कांग्रेस नेतृत्वको गठबन्धनबाट खेलराज पाण्डे र एमाले नेतृत्वको गठबन्धनबाट बाबुराम भट्टराईकाे उम्मेदवारी रहेकाे छ ।

भट्टराईको नाम एमालेको केन्द्रीय सचिवालय र पाण्डेको नाम कांग्रेसको लुम्बिनी प्रदेश समितिले टुङ्ग्याएकाे हाे । उमहानगरको उपमेयरमा एमालेले सावित्रा अर्याल र नेकपा एकीकृत समाजवादीले चिनबहादुर गुरुङलाई अगाडि सारेकाे छ । 

करिब ९० हजार मतदाता रहेको बुटवलमा यसअघि मेयर र उपमेयर दुवै पदमा एमाले विजयी भएको थियो । एमालेबाट उम्मेदवार बनेका शिवराज सुवेदीसँग कांग्रेस उम्मेदवार खेलराज पाण्डे झन्डै २ हजार ४ सयको मतान्तरमा पराजित हुनुभएको थियो । भट्टराई भने व्यावसायिक पृष्टभूमिका हुनुहुन्छ । 

२०७४ को चुनावमा भन्दा झन्डै २० हजार मतदाता थपिएको बुटवल उपमहानगरमा पाण्डेले एमालेका प्रदेश कमिटीका सदस्य समेत रहेका बाबुराम भट्टराईसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । पाण्डे कांग्रेसका उपमहानगरका सभापति पनि हुनुहुन्छ । बुटवलमा एमालेले राष्ट्रिय जनमुक्ति पार्टीसँग चुनावी तालमेल गरेको छ ।

रुपन्देहीका १६ पालिकामध्ये ६ वटामा सत्तारुढ गठबन्धनकाबीचमा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ । सबै पालिकाहरुमा सत्तारुढ र विपक्षी दुवै गठबन्धनले उम्मेदवार टुङ्गो लगाएका छन् । विगतको पालिका चुनावमा नेकपा एमाले रुपन्देहीमा सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएको थियो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया