घोराहीमा गएराति भएको आगलागीबाट साढे ६ करोडभन्दा बढी क्षति

 कात्तिक ८, २०७९ मंगलबार ११:२७:४० | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको घोराहीमा गएराति भएको आगलागीमा साढे ६ करोडभन्दा बढी क्षति भएको छ ।

घटनाको प्रारम्भिक जानकारी अनुसार आगलागीबाट तीन फर्निचर उद्योग तथा शाे रुमहहरु जलेर खरानी भएको र त्यसबाट ६ करोड ६८ लाख बढीको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराही उपमहानगरपालिका – १५ उमेश मार्गमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा न्यु दाजुभाइ फर्निचर उद्योग, दाजुभाइ फर्निचर उद्योग, स्टार दाजुभाइ फर्निचर उद्योगका साथै ऊँ प्रकृति शो रुम जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।

तीन फर्निचर उद्योग, एउटा शो रुममा पूर्ण रूपमा जलेर नष्ट भएको र त्यसबाट झन्डै ६ करोड ६८ लाख बराबरको काठ तथा तयारी अवस्थामा राखिएका फर्निचरहरु जलेर नष्ट भएको अनुमान गरिएको छ ।

राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब ५ बजेतिर मात्रै पूर्ण रुपमा नियन्त्रणामा आएको थियो । आगो नियन्त्रण लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी रातभर ठूलो संख्यामा खटिएका थिए ।

त्यस्तै घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाका दमकलहरु बोलाउनु परेको थियो ।

आसपासका संरचना भत्काउन तथा माटो खनेर आगो नियन्त्रणमा लिनको लागि डाेजरको पनि प्रयोग गरिएको प्रहरी कार्यालय दाङले जनाएकाे छ । 

घना बस्ती रहेको क्षेत्रमा आगो लागेपनि प्रहरीकै सक्रियताले आसपासका घर जोगाउन संभव भएको र त्यसबाट संभावित ठूलो क्षति टरेको छ ।

मध्यरातमा घोराहीको मुख्य बजारमा भएको भिषण आगलागीबाट सर्वसाधारण त्रसित बनेका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया