फाप्लु विमानस्थलमा अवतरणका क्रममा नेपाल एअरलाइन्सको जहाजमा समस्या, झन्डै २५ मिनेट 'होल्ड'

 मंसिर २०, २०७९ मंगलबार १२:५९:२८ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु - सोलुखुम्बुको फाप्लु विमानस्थलमा अवतरण गर्ने क्रममा नेपाल एअरलाइन्सको जहाजमा समस्या आएकाे छ । आज बिहान अल्फा ब्राबो युनिफम (9N-ABU) कल साइन भएको जहाजमा प्राविधिक समस्या आएपछि करिब २५ मिनेट होल्ड गरिएकाे विमानस्थलले जनाएकाे हाे । 

अवतरण गर्ने क्रममा बिहान करिब १० बजे एक्कासी अगाडिको चक्का जाम (विल लक) भएपछि यात्रुहरुमा खैलाबैला मच्चिएको थियो । प्राविधिक समस्या देखिएको जहाजको समस्या समाधान गरी निर्धारित समयभन्दा करिब ३५ मिनेट ढिला गरी काठमाण्डाै फर्किएको नेपाल एअरलाइन्सले जनाएको छ ।

चालक दलका ३ सदस्यसहित १७ जना यात्रु लिएर काठमाण्डौ फर्किन लागेको जहाजमा खराबी आएपछि करिब २५ मिनेट होल्ड गरिएको थियो । जिल्ला प्रहरी कार्यालय निरीक्षणका लागि ओखलढुङ्गा हुँदै सोलुखुम्बु आइपुगेका नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंह पनि त्यही जहाजमार्फत् काठमाण्डौ फर्किन लाग्नुभएकाे थियाे। 

जहाज अवतरण हुन नपाइ समस्या देखिएपछि आईजीपी सिंह सिम्रिक एअरको हेलिकप्टरमार्फत् लुक्ला प्रस्थान गर्नुभएकाे थियाे । आईजीपी सिंहसहित ३ जना हेलिकप्टरबाट फर्किएपछि चालक दलका ३ सहित १४ जना यात्रु लिएर जहाज अहिले काठमाण्डौ फर्किसकेकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया