साेलुखुम्बुकाे पत्तालेमा व्यावसायिक स्याउ खेती गर्दै युवा, मनग्य आम्दानी

 मंसिर २५, २०७९ आइतबार ८:४५:२९ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुदूधकुण्ड नगरपालिका-८ पत्तालेका युवाहरुले स्याउ खेतीबाट मनग्य आम्दानी लिन थालेका छन्। यस क्षेत्रका आठ जना युवाहरुले करिब दुई वर्षअघिदेखि सामूहिक रुपमा सुरु गरेको व्यावसायिक स्याउ खेतीबाट अहिले राम्रो आम्दानी लिन थालेका हुन् ।

आफूहरुले कृषि एग्रो टुरिजम डेभलपमेन्ट फर्म मार्फत् १ सय ८६ रोपनी जग्गामा १८ हजार स्याउको बिरुवा रोपेको फर्म सञ्चालक कर्म शेर्पाले बताउनुभयो ।

इटलियन जातको स्याउबाट यस आर्थिक वर्षमा ५ लाख रुपैयाँभन्दा बढी आम्दानी भएकाे सञ्चालक शेर्पाको भनाइ छ। पहिलो पटक उत्पादन भएको स्याउ २ महिना अघिसम्म घुम्न आउनेहरुले फार्ममै आएर किनेकाले बजार खोज्न नपरेको शेर्पाले बताउनु भयाे । 

आउँदाे दिनमा स्याउबाट जुस, जाम लगायत उत्पादन गर्ने उनीहरुकाे योजना छ  । आलु मात्रै उत्पादन हुने पत्ताले क्षेत्रमा युवाहरु मिलेर सुरुमा १ करोड रुपैयाँ लगानीमा ३ हजार स्याउको बिरुवा राेपेका थिए । अहिले बगैँचामा १८ हजार बिरुवा पुगेकाे उनीहरुले बताएका छन्। 

आलु खेतीबाट भन्दा स्याउबाट राम्रो आम्दानी लिन सकिने भएकाले यसतर्फ लागेको उनीहरुको भनाइ छ । उनीहरुले नेपाल सरकार अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ५५ लाख ६२ हजार रुपैयाँ अनुदान समेत प्राप्त गरेका थिए । यसरी सरकारले प्रदान गरेको अनुदानले आफूहरुलाई झन् उत्साहित बनाएकाे सञ्चालक शेर्पाले बताउनु भयाे । 

उहाँले भन्नुभयोे, ‘आलुभन्दा स्याउबाट धेरै फाइदा रहेछ, युवाहरु मिलेर जुनसुकै व्यवसाय गरे पनि राम्रै आम्दानी लिन सकिने रहेछ, स्याउखेतीबाट हामी त धेरै सन्तुष्ट छौँ ।’ झण्डै २८ सय मिटरको उचाइमा पर्ने पत्ताले क्षेत्रमा यसअघि व्यावसायिक रुपमा स्याउ खेती गरिएको थिएन । आलुका लागि प्रख्यात पर्यटकीय गाउँ पत्तालेलाई स्याउ उत्पादन हुने क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको युवा कृषकहरुले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया