जाडाे छल्नका लागि सगरमाथा क्षेत्र छोड्नेहरु बढे

 पुस १३, २०७९ बुधबार ९:३६:५७ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – सोलुखुम्बुको उच्च हिमाली क्षेत्रका स्थानीय बासिन्दा जाडो छल्नका लागि काठमाडौ लगायत विभिन्न जिल्लाहरुमा जान थालेका छन् ।

पर्यटकीय सिजनमा पर्यटकले खचाखच हुने खुम्बुको विमानस्थल, होटल लज, क्याम्पिङ साइट तथा दृश्यावलोकन गर्ने स्थल अहिले सुनसान बनेका छन् । पर्यटकीय सिजनमा व्यस्त हुने होटल पसल व्यवसायीहरु पनि जाडो छल्न खुम्बुक्षेत्रबाट बाहिरिएको स्थानीय दामु शेर्पाले बताउनुभयो ।

अधिकांश व्यवसायी तथा स्थानीयहरु बाहिरिएसँगै खुम्बुक्षेत्र सुनसान बनेको लुक्लाका स्थानीय तोया श्रेष्ठले बताउनुभयाे । जाडो सुरु भएसँगै जिल्लाको खुम्बु क्षेत्रमा पर्ने गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङला, एवम् थामे लगायतका बासिन्दा जाडो छल्न बाहिर गइसेका छन् ।

सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चे, गोक्यो, कालापत्थर, एभरेष्ट बेस क्याम्पलगायतका ठाउँहरुमा पनि अहिले पर्यटकको चहलपहल सुनसान बनेको छ । केही होटल पसल खुल्ला भएपनि व्यवसायीहरुको जनजीवन कष्टकर बन्दै गएको छ ।

सिजनको बेला दैनिक एक सय वटासम्म हवाई उडान हुने लुक्लामा अहिले दैनिक ५/६ वटा मात्रै उडान हुने गरेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया