त्रिदेशीय क्रिकेट शृङ्खलामा स्कटल्यान्डले दियो नेपाललाई २ सय १३ रनको लक्ष्य : करणको ५० विकेट पूरा

 फागुन ९, २०७९ मंगलबार १२:३८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा स्कटल्यान्डले नेपाललाई २ सय १३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्ड ४६ ओभर १ बलमा २ सय १२ रनमा अलआउट भयो ।

आजको खेलमा नेपालका सन्दीप लामिछानेले ४, करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान एक/एक विकेट लिएका छन् । करण केसीले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन् । उनी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् । उनले ३२ खेलमा ५० विकेट लिएका छन् । यसअघि लामिछाने र सोमपाल कामीले ५० विकेट पूरा गरेका थिए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । नेपालले आजको खेलमा तीव्र गतिका बलर गुलशन झाको ठाउँमा ललित नारायण राजवंशीलाई मौका दिएको छ ।

नेपालले स्कटल्यान्डसँग यो शृङ्खलाको अन्तिम खेल खेलेको हो । यसअघि भएको खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो । त्यस्तै पछिल्लो खेलमा नेपालले नामिबियालाई तीन विकेटले तथा पहिलो खेलमा दुई विकेटले हराएको थियो । यो शृङ्खलामा नेपालले पहिलो पटक लगातार तीन खेल जितेको छ । श्रृङ्खला अन्तर्गत हिजो भएको खेलमा स्कटल्यान्डले नामिबियालाई ४३ रनले हराएको थियो । स्कटल्यान्ड ३५ खेलमा ५० अङ्कसहित शीर्षस्थानमा छ । लिग २ को च्याम्पियन बनेको स्कटल्यान्डले आज नेपालको खेलपछि नै ट्रफी पाउनेछ । 

लिगका सबै ३६ वटा खेल खेलिसकेको ओमन ४४ अङ्कसहित दोस्रो स्थानमा छ । दुवै टोली विश्व कपका लागि छनोट भइसकेका छन् । सात टोली रहेको लिग–२ बाट शीर्ष तीन टोली विश्व कपका लागि छनोट हुनेछन् । लिगको तेस्रो स्थानका लागि नामिबिया, यूएई र नेपाल प्रतिस्पर्धामा छन् । अहिले तेस्रो स्थानमा रहेको नामिबियाको ३४ खेलमा ३७ अङ्क छ । अब नामिबियाका दुई खेल बाँकी छन् । चौथो स्थानमा रहेको अमेरिकाको ३६ खेलमा ३५ अङ्क र पाँचौँ स्थानमा रहेको यूएईको २६ खेलमा २७ अङ्क छ ।

छैटौँ स्थानमा रहेको नेपालको २७ खेलमा २४ अङ्क छ । नेपालले नौ वटा खेल खेल्न बाँकी छ । पुछारमा रहेको पपुवा न्युगिनीले २८ खेलमा पाँच अङ्क मात्रै जोडेको छ । नामिबियाले बाँकी दुवै खेल जितेमा ४१ अङ्क हुनेछ । नेपालले सबै खेल जितेमा ४२ अङ्क हुनेछ । नेपालले यूएई र पपुवा न्युगिनीसँग चार–चार खेल खेल्नेछ । नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय श्रृङ्खला अर्को हप्तादेखि यूएईमा हुनेछ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया