चीनको आर्थिक वृद्धिको लक्ष्य ५ प्रतिशत

 फागुन २१, २०७९ आइतबार २०:९:३३ | एजेन्सी
unn.prixa.net

चीनले यो वर्षको आर्थिक वृद्धिको लक्ष्य पाँच प्रतिशत निर्धारण गरेको छ । अर्थतन्त्रको पुनरुत्थान गर्दै उपभोक्तालाई राहत दिने विषयलाई अर्थतन्त्रको केन्द्रमा राखिएको छ । 

चीनको राष्ट्रिय व्यवस्थापिकाको चलिरहेकेा बैठकमा प्रस्तुत बजेटको मस्यौदा प्रतिवेदनमा व्यापार विस्तार र विविधीकरणमा विशेष जोड दिइएको छ । प्रधानमन्त्री ली खछ्याङले यो वर्षको आर्थिक वृद्धिदरको लक्ष्य पाँच प्रतिशतको हाराहारीमा राखिएको बताउँदै कोरोना महामारीका कारण तीन प्रतिशतमा झरेको अघिल्लो वर्षको आर्थिक वृद्धिलाई बढाउन उद्यमी व्यवसायीलाई उत्प्रेरित गर्नुभएको छ । सन् १९७० पछि पहिलो पटक चीनको आर्थिक वृद्धिदर तीन प्रतिशतमा झरेको हो ।

बैठकमा सरकारी योजनाबारे जानकारी दिँदै प्रधानमन्त्री लीले आर्थिक पुनरुत्थान र विस्तारलाई प्राथमिकता दिनु बजेटको मुख्य उद्देश्य भएको बताउनुभयो । उहाँले स्वतन्त्र उद्यम र व्यवसाय प्रवर्धनमा जोड दिनुभयो । बाह्य व्यापारमा बढेको चुनौतीको सामना गर्ने सबल अर्थतन्त्र निर्माण लाग्नु अहिलेको आवश्यकता भएको उहाँले उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री लीले उपभोक्ता खर्च बढाएर गार्हस्थ्य आम्दानी वृद्धिको आह्वान गरे पनि विस्तृत योजना सार्वजनिक गर्नुभएको छैन । विज्ञान र प्रविधिको क्षेत्रमा राष्ट्रको सामर्थ्य बढाएर आत्मनिर्भर हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

अमेरिकासँगको व्यापारमा मन्दी आएका बेला बजेटका लक्ष्य र उद्देश्य हासिल गर्न चीनलाई हम्मेहम्मे पर्ने देखिन्छ । चिनियाँ प्राेसेसर चिप्स र अन्य उत्पादनमा अमेरिकाले देखाएको सुरक्षा चासोका साथै विश्वव्यापी माग घट्दा चीनको निर्यात व्यापार कमजोर हुने आर्थिक क्षेत्रका जानकारहरूले टिप्पणी गरेका छन् । 

चीन सरकारले सी जिनपिङकाे नेतृत्वमा बिजुली कार, स्वच्छ ऊर्जा, दूरसञ्चार र अन्य क्षेत्रमा प्रतिस्पर्धी सिर्जना गर्ने प्रयासले अमेरिका र व्यापारिक साझेदार अन्यसँगको सम्बन्धलाई तनावपूर्ण बनाएको छ ।

बजारमा आफ्नो नियन्त्रण कायम गर्ने, अनुदान दिएर अन्य लगानीकर्तालाई हतोत्साही पार्ने तथा प्रविधि चोरीजस्तो गम्भीर आरोप पनि चीनमाथि लाग्दै आएको छ । आर्थिक, सामाजिक एवम् सांस्कृतिकरूपमा सुदृढ राष्ट्र बनाउन विदेशी लगानी प्रवर्धन गर्ने भनिए पनि वास्तवमा बेइजिङले आफ्नै घोषित नीतिको पालना नगरेको आरोप छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया