वैदेशिक रोजगारीमा गएका स्वस्थ नेपालीको ज्यान जाने मुख्य कारण वासस्थान र व्यवसायजन्य असुरक्षा

 बैशाख १४, २०८० बिहिबार १७:२०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – स्वास्थ्य परीक्षण गराएर स्वस्थ ठहरिएपछि वैदेशिक रोजगारीमा गएका नेपालीहरूको ज्यान जानुमा कुनै घातक रोगको कारणभन्दा पनि काम गर्ने वातावरण र व्यवसायजन्य सुरक्षा कमजोर हुनु मुख्य कारण भएको एक अध्ययनले देखाएको छ । 

राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको ‘नेपाली श्रमिकहरूको मानव अधिकार अवस्था प्रतिवेदन २०७९’ ले स्वास्थ्य परीक्षण गरेर स्वस्थ ठहरिएका नेपालीहरूको गन्तव्य देशमा मृत्यु हुने क्रम बढ्नुमा विदेशमा बस्ने वासस्थान, खानपान, व्यवसायजन्य सुरक्षा र काम गर्ने क्रममा अपनाइने सुरक्षाका उपायहरु कमजोर भएको ठहर गरेको छ ।

नेपालबाट वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्छ । स्वास्थ्य परीक्षणमा पास भएका स्वास्थ्य व्यक्तिहरूले मात्र वैदेशिक रोजगारीको यात्रा गर्न पाउँछन् । 

तर पछिल्लो समय रोजगारीको क्रममा ज्यान गुमाउने नेपालीहरूको सङ्ख्या बढ्दो छ । वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०६५/२०६६ देखि  २०७७/२०७८ सम्ममा मात्रै ९ हजार तीन ३६८ जनाको ज्यान गएको छ ।

यो सङ्ख्या विदेशमा श्रम अवधि भित्रै ज्यान गुमाएका श्रमिकका परिवारलाई बोर्डले आर्थिक सहायता दिएकाको तथ्याङ्क हो । जसमध्ये ९ हजार १४८ जना पुरुष र २१५ जना महिला रहेका छन् । तर यो सङ्ख्या यो अवधिमा ज्यान गुमाउने सबैको भने होइन । बोर्डले श्रम स्वीकृतिको अवधि सकिएकाहरूलाई आर्थिक सहायता प्रदान गर्दैन र उनीहरूको तथ्याङ्क राख्दैन पनि । 

बोर्डमा बर्सेनि आर्थिक सहायता लिनेको सङ्ख्या पनि बढेको छ । आर्थिक वर्षमा २०६५/२०६६ मा जम्मा ९० जनाको ज्यान गएकोमा त्यसको पाँच वर्षपछि आर्थिक वर्ष २०६५/६६ मा यो सङ्ख्या बढेर एक हजार नाघेको बोर्डको तथ्याङ्कले देखाउँछ ।

आर्थिक वर्ष २०७७/२०७८ मा १२४२ जना मृतकका परिवारले बोर्डबाट आर्थिक सहायता लिएका छन् । वैदेशिक रोजगारीमा गएका तीन जनाले प्रत्येक दिन ज्यान गुमाउने गरेको प्रतिवेदनले देखाएको छ भने यसरी ज्यान गुमाउनेमा ९३ प्रतिशत मलेसिया र खाडीका देशमा गएकाहरू रहेका छन् । बाँकी सात प्रतिशत मात्र अन्य देशहरूमा श्रमिकको ज्यान गएको छ ।

विदेशमा ज्यान गुमाएका व्यक्तिका परिवारले पाउँदैनन् कम्पनीबाट राहत

विदेशमा नेपाली श्रमिकहरूको ज्यान जानुको मुख्य कारण धेरैजसोको प्राकृतिक कारण भनिएको छ भने बाँकी हृदयघात र कतिपयको भने मृत्युको कारण नखुलेको उल्लेख गरिएको छ । 

प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले सन् २०१७ मा विदेशमा ज्यान गुमाएका ३०५ जना श्रमिकको केशमा गरेको अध्ययनले ७० प्रतिशतभन्दा बढी मृतकका परिवारले कम्पनीबाट र गन्तव्य देशबाट कुनै पनि सहयोग र राहत नपाएको देखाएको छ ।

उनीहरू मध्ये २९ प्रतिशतले मात्र गन्तव्य देशबाट पाउने आर्थिक सहायताको लागि प्रक्रिया अघि बढाएको बताएका छन् भने एक प्रतिशतले मात्र रोजगारदाताबाट आर्थिक सहायता पाएको प्रतिवेदनले देखाएको छ ।

यस्तै विदेशमा ज्यान गुमाएका श्रमिकको शव नेपालसम्म ल्याउन पनि समय लाग्ने गरेको पाइएको छ ।

मृतक श्रमिक मध्ये ४४ प्रतिशत श्रमिकको शव एक हप्ता भित्र र १३ प्रतिशत श्रमिकको शव दुईदेखि तीन हप्तामा नेपाल आइपुग्ने गरेको र बाँकी शव भने लामो समयसम्म पनि स्वदेश आई नपुग्ने गरेको आयोगको अध्ययनले देखाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया