सोलुखुम्बुमा चिराइतो निकासी ६० प्रतिशतले बढ्यो

 भदौ ३०, २०८० शनिबार ९:३१:४८ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुबाट चिराइतो निकासी ६० प्रतिशतले बढेकाे छ  । जिल्लाबाट आर्थिक वर्ष २०७८/७९ को तुलनामा गएकाे आर्थिक वर्ष २०७९/८० मा ६० प्रतिशतले चिराइतो निकासी वृद्धि भएको हो ।

डिभिजन वन कार्यालय सोलुखुम्बुको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा ५ हजार किलो चिराइतो निकासी भएको थियो भने गएकाे आर्थिक वर्ष २०७९/८० मा जिल्लाबाट १२ हजार ५ सय किलो चिराइतो निकासी भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा प्रतिशतको हिसाबले ६० प्रतिशत र सङ्ख्यात्मक हिसाबले ७ हजार ५ सय किलोले बढी हो ।

जिल्लामा चिराइतो उत्पादन बढेसँगै निकासी पनि बढेको कार्यालयका सूचना अधिकारी मनराज राईले बताउनुभयो । चिराइतो खेती विशेषगरी जिल्लाका टाक्सिन्दु, जुभिङ, बासा, वाकु, पावै, देउसा, सोताङ, गुदेल, नेचाबेतखारी, नेचाबतासे, सल्यान, पञ्चन, तिङ्ला, नेले, मुक्ली, जुवु, भकाञ्जे, गोराखानी, केरुङ लगायतका क्षेत्रमा हुने गरेको छ ।

जिल्लामा उत्पादन भएको चिराइतो बढीजसो भारत निकासी हुने गरेकोे छ भने केही मात्रामा विराटनगर, काठमाण्डौ लगायतका जिल्लामा खपत हुने गरेको जनाइएको छ । चिराइतो उत्पादनबाट राम्रै आम्दानी हुने भए पछि पछिल्लो समय यसतर्फ किसानहरु आकर्षित भएका छन् । 

जिल्लाका धेरै किसानहरुले अहिले जडीबुटी खेतीका लागि पनि प्रकृयाको काम गरिरहेको डिभिजन वन कार्यालयले जनाएको छ । एक समय अलैँचीमा मात्रै बढी केन्द्रित भएका यहाँका किसानहरु अहिले अलैँचीको विकल्पमा चिराइतोलाई लिने गरेका छन् ।

अलैँचीको भाउ केही वर्षयता निरन्तर ओरालो लाग्नु र बिरुवामा समेत रोगकिराले सताउँदा उनीहरु अलैँची खेतीबाट पलायन हुने क्रम बढेको हाे । जिल्लामा अलैँचीको उद्गम थलोको रुपमा परिचित लिखुपिके गाउँपालिका क्षेत्रका धेरै किसानहरुले अहिले चिराइतो लगाउन थालेका छन् । 

जिल्लाको सोलुदूधकुण्ड नगरपालिका, थुलुङ दूधकोशी गाउँपालिका, माप्यदूधकोशी गाउँपालिका, लिखुपिके गाउँपालिका लगायतका क्षेत्रमा चिराइतो खेती गरिँदै आएको छ । वन्यजन्तुहरुले समेत दुःख नदिने भएकाले यसतर्फ किसान आकर्षित भएका बताइएको छ । मकैबालीमा भालु, बाँदरको आतङ्क हुने गरेका कारण हैरान भएका किसानहरुलाई चिराइतो खेतीले धेरै राहत प्रदान गरेको सल्लेरीका धन बहादुर तामाङले बताउनु भयाे।

औषधीय गुण प्रशस्त हुने चिराइतो जडीबुटीहरुमध्ये महत्त्वपूर्ण मानिन्छ । ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको लगायत रोगका लागि घरेलु औषधिका रुपमा समेत यसकाे प्रयोग गर्ने गरिएको छ ।  एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया