श्री कुमारीकाे दर्शनपछि राजाका पाहुनाहरु प्रभावित भए...

 असोज ११, २०८० बिहिबार ८:५४:२६ | कुमार रञ्जित
unn.prixa.net

फाइल तस्बिर, रासस

नेपालको श्री कुमारी संस्कृतिबारे संसारका अरु देशका जिज्ञासुहरुले सोध्ने गरेका छन्, “कुमारीलाई हामीले हेर्न नपाउने ? छुन र ढोग्न नपाउने ? कस्तो हुनुहुन्छ कुमारी ? हामीले उहाँको फोटो खिच्न नपाउने ?” जवाफमा पथ–प्रदर्शकहरुले भन्ने गरेका छन्, “ झ्यालमा आउनुहुन्छ, टाढैबाट दर्शन गर्न पाइन्छ, फोटो खिच्न पाइँदैन ।” 

काठमाण्डौ घुम्न आउने विदेशी पर्यटकहरु प्रवेश शुल्क तिरेर वसन्तपुरबाट विश्व सम्पदा हनुमानढोका क्षेत्र प्रवेश गरेको केही मिनेटमै भव्य नेवाः वास्तु र काष्ठकलाले सजिएको कुमारी घर अगाडि पुग्दछन् । पथप्रदर्शकको मार्ग–निर्देशनअनुसार प्रवेश गरेर भव्य काष्ठकलाले भरिएको सजिसजाउ चोक देखेपछि त्यहीँ निवास गरिरहेकी श्री कुमारीको दर्शन नगरि फर्कने नगण्य सङ्ख्यामा संयोगवश समय नमिलेका मात्रै हुन्छन् । 

नेपालको राजकीय मान्यताप्राप्त साक्षात् श्री कुमारीको प्रत्यक्ष दर्शन गर्न लालायित विश्वभरीकै पर्यटकहरुले कुमारी घरको भित्री चोकमा पुगेपछि केही मिनेटको प्रतिक्षापछि आफूलाई भाग्यमानी ठान्दछन् । आफू चोकमै बसेर माथिल्लो कलात्मक झ्यालको बीचबाट श्री कुमारीको दर्शन पाएर खुशीले गदगद हुँदै विदेशी मुद्रा भेटी चढाउँछन् । र नेपालीहरु घरभित्रै प्रवेश गरेर माथि गएको देखेर एकपटक पक्कै सोध्छन्, “हामी पनि माथि जान पाइन्छ ?” जवाफमा “हिन्दुलाई मात्रै” भन्ने पाएपछि तिनीहरु टाउको हल्लाउँदै चुपचाप फर्किन्छन् । 

यसरी उत्साहपूर्वक कुमारीको प्रत्यक्ष दर्शन पाएका मित्रराष्ट्रहरुका राष्ट्राध्यक्षहरुको सूची लामै छ । पञ्चायतकालदेखि नै नेपाल भ्रमणमा आएका मित्रराष्ट्रका राष्ट्राध्यक्षहरुका नाम त्यसमा आउनेछ । त्यस्ता प्रायजसाे विदेशी विशिष्ट पाहुनाहरुका जिज्ञासा हुन्थ्यो, “कुमारी अहिले कति वर्षको हुनुभयो ? उहाँ के खानुहुन्छ ? उहाँलाई कसले हेरविचार गर्छ ? पढाइ गराइन्छ कि गराइन्न ?” आदि । 

श्री कुमारी परम्परा अन्तर्गत शाक्य कुलकी ३२ सै गुणयुक्त पुत्रीलाई राजपुरोहितसहितका सांस्कृतिक विज्ञहरुको टोलीले छनोट गरेर सानै उमेरमै कुमारी घरमा रहेको आशनमा विराजमान गराइन्छ । त्यही घरमा श्री कुमारीलाई विद्यालयका गुरुहरु गएर पढाउने गरिन्छ । अन्य आवश्यक सबै प्रकारका सेवा र सुविधाहरु प्रदान गर्न सरकारका विभिन्न निकायले कुमारी घरका “चिताइदार” मार्फत् व्यवस्थित बन्दोबस्त गरिएका छन् । श्री कुमारी हुनुभएकालाई आजीवन श्रीपद भत्ता दिने व्यवस्था पनि तत्कालीन राजा वीरेन्द्रकै पालामा गरिएको हो । श्री कुमारीको अवकाश पनि विज्ञहरुकै सुझबुझ अनुसार १२ देखि १३ वर्षको उमेर भएपछि दिने गरिएको छ । त्यसपछि अर्को कुमारीको नियुक्ति गरिन्छ ।

यहाँ त्यस्तै जिज्ञासाका बीच श्रीकुमारी माजुबारे केही अहिलेसम्म नसुनिएका, प्रकाशनमा नआएका र गोप्य राखिएका तथ्यहरुबारे संक्षिप्त जानकारी गराउँदैछु । 

श्री कुमारीको बिहानी खाना हनुमानढोका दरबार र श्री तलेजु परिसरभित्रको चुल्होबाट तयार गरेर ल्याउने परम्परा रहँदै आएको छ । त्यस कामका लागि केही भान्से ज्यापुनी महिलाहरुको दरबन्दी नै निश्चित गरिएको हुन्छ । श्री तलेजु भवानीकै स्वरुप मानिने श्री कुमारी माजुलाई हनुमानढोका दरबार र श्री तलेजु भवानी परिसरभित्रको चुल्होबाट बिहानी खाना तयार गरेर ल्याउने परम्परा छ । यस परम्पराले प्राचीनकालदेखि श्री तलेजु भवानी, श्री कुमारी माजु र शासन र शक्तिको स्रोत राजदरबारबीचको अन्योन्याश्रित सम्बन्ध रहेको प्रष्ट गर्दछ । 

यति महत्त्वपूर्ण राजकीय शक्ति र सम्मानकासाथ पुजित श्री कुमारी माजुको दर्शन गर्न पञ्चायतकालमै पनि नेपालको राजदरबारमा पहुँच भएका विदेशी विशिष्ट पाहुनाहरुले विशेष अनुरोध गरेर अनुमति लिने गरेका थिए । त्यसरी राजदरबारमै विशेष अनुरोध गरेर अनुमति लिएका भारतका प्रसिद्ध “आर्ट अफ् लिभिङ्ग” का संस्थापक श्री रवि शङ्कर पनि एक हुनुहुन्थ्यो । उहाँ तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा राजदरबारबाटै अनुमति लिएर श्री कुमारीको दर्शन गर्न पुग्नुभएको थियो । त्यतिबेला उहाँकासाथ सयौँ शिष्यहरु पनि कुमारी घर पुगेका थिए । उनीहरु पनि श्री कुमारीलाई कुमारी घरको माथि नै गएर प्रत्यक्ष दर्शन गर्न चाहन्थे ।

“हिन्दुलाई मात्र” भनेर सम्झाएपछि पनि उनीहरुले “हामी पनि हिन्दु हौँ” भन्दै थिए । तर “जन्मसिद्ध हिन्दु हुनुपर्ने” भनिएपछि त्यहाँ भएकै कसैले “बौद्धलाई नि ?” भनेर सोधे । जवाफमा तत्कालीन राजदरबारका प्रतिनिधिले “हामी हिन्दु र बौद्धलाई समान व्यवहार गर्छौँ” भनेपछि रविशङ्करले भन्नुभयो, “कति राम्रो संस्कृति रहेछ !”

यति भनिसकेपछि त्यहाँको भिडमा कुमारी घरको माथिल्लो तलामै पुगेर श्री कुमारी माजुको प्रत्यक्ष दर्शन गर्नेको सङ्ख्यामा ह्वात्तै कटौती भयो । त्यसपछि श्री रविशङ्करकै नेतृत्वमा एक समूहले प्रवेश गर्दै कुमारी घर उक्लिन पायो । त्यसबेला श्री कुमारी माजुको झन्डै आधा घण्टा गम्भीरतापूर्वक दर्शन र टीका ग्रहणपछि रविशङ्करले प्रतिक्रिया दिनुभएको थियो, “अहो, बडो शक्तिशाली हुनुहुन्छ, तपाईंहरुका श्री कुमारी !” त्यसपछि रवि शङ्करले श्री कुमारीलाई उपहार साथै भारतीय रुपैयाँ नगद चढाउनु भयो । उहाँका अनुयायीहरुले पनि थुप्रै नगद चढाएको प्रत्यक्षदर्शीले सम्झिएका छन् । 

यसैगरी त्यसअघि पनि तत्कालीन राजा वीरेन्द्रको कार्यकालमा उहाँका मित्र समेत रहेका एकजना भारतकै प्रसिद्ध शल्य चिकित्सकलाई पनि श्री कुमारीको प्रत्यक्ष दर्शन गराउन राजदरबारबाट अनुरोध आएको थियो । ती डाक्टर पनि श्री कुमारीको प्रत्यक्ष दर्शन पाएर आफू आधुनिक सोच भएका भौतिकवादी भए पनि नेपालमा कुमारीको अध्यात्मिक तथा परम्परागत शक्ति रहेकोमा विश्वस्त भएको प्रतिक्रिया दिँदै फर्किएका थिए। 

श्री कुमारीसहित श्री गणेश र श्री भैरवकाे रथयात्रा प्रत्येक वर्ष तीन दिन इन्द्रजात्रा र त्यसको भोलिपल्ट पूर्णिमाकाे दिनका साथै अर्को एकदिन “नानिचायाः” का दिन हुने गरेको छ । इन्द्रजात्राका दिन रथयात्रा प्रत्यक्ष अवलोकन गर्न राष्ट्राध्यक्ष, प्रधानमन्त्री, मन्त्रीहरुका साथै राज्यका सम्पूर्ण सम्वैधानिक अङ्ग र विदेशी मित्रराष्ट्रहरुका राजदूतहरुका साथै कुटनीतिक नियोगका प्रमुखहरुको समेत वसन्तपुरमा रहेकाे गद्दी बैठकमा उपस्थिति रहने गरेको छ ।  .

अन्तिम अपडेट: बैशाख १५, २०८१

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया