एआईको कमालले धनधान्य नेपाल !

 मंसिर १८, २०८० सोमबार १३:४:१५ | मिलन तिमिल्सिना
unn.prixa.net

टिकटक बन्द भएर के भो ? फेसबुक त बन्द भएको छैन नि । फेसबुक हुँदासम्म समय कटाउन गाह्रो छैन । फेसबुकमा त कसैकसैले सिर्जनशील काम पनि गर्छन् । उनीहरूको सिर्जनाले धेरैलाई लोभ्याउँछ । कल्पना गरेर बनाएका सिर्जना पनि कसैकसैलाई साँच्चै हो कि जस्तो लाग्छ । हिजोआज फेसबुकमा यस्तै सिर्जना छताछुल्ल भएका छन् । एआई अर्थात कृत्रिम बुद्धि । मान्छेका मात्रै बुद्धिले यत्रो सन्सार धान्न सकेन । त्यसैले आफूभन्दा पनि धेरै बुद्धि भएको कुरा खोज्ने भाउँतो मान्छेलाई आइलाग्यो । मान्छेको बोली बुझ्ने, अनुहार चिन्ने र मालिकको अह्रन खटन मानेर भनेको काम गर्ने कृत्रिम बुद्धि भएको एआई अहिले सर्वाधिक चर्चामा छ ।

कृत्रिम बुद्धि अर्थात् एआई आएपछि काम र प्रविधिमा उथलपुथल आएको छ । कसैलाई हुनसम्म सजिलो बनाएको छ, कसैलाई हदैसम्म अप्ठ्यारो । एआईकै कारण कतिपयको जागिर गुम्यो । विश्वका अरू ठाउँमा एआईले के के गर्‍याे र अझै के के गर्छ भन्ने लम्बेतान मेलोमा नपसौँ । हामीलाई कल्पनामा रम्ने बानी छ, त्यसैले हाम्रै देशमा देखिएका केही कुरा सम्झेर एआईले गर्न सक्ने कामको कल्पना गरेर अर्कै संसारमा पुगौँ है त ?

अलि पहिले टिकटकमा केपी ओलीको गीत सुनियो । त्यसपछि नरेन्द्र मोदी र प्रचण्डको स्वर मिसिएको गीत बज्यो । कति मिठो स्वर ! गायकको भन्दा पनि सुमधुर आवाज । भाषण र गफ गर्न जान्ने नेताले गीत पनि गाउन सक्ने भएपछि गीतसङ्गीतको आनन्द लिन कलाकारको मात्रै भर पर्नै परेन । यसै पनि हाँस्यव्यङ्ग्य कलाकारहरूले भन्दा बढी हँसाउन सक्ने क्षमता बनाएका नेताहरूले अब गीत पनि गाएर मनोरञ्जन दिने भए । गज्जब नै हुने भयो । नेताहरूको स्वर मिसिएको गीत सुन्न पाउने कल्पना गर्दागदै टिकटक बन्द भयो । त्यसपछि एआईका चमत्कार फेसबुकमा देखिन थाले । कोही मान्छेभन्दा ठूलो कित्लीमा भकभक उम्लेको चिया बोकेर उस्तै ठूलो गिलासमा खन्याइरहेका । कोही रक्सी पिएझैँ गरी चियाको चियर्समा रमाइरहेका । जिन्दगीका अरू सबै आवश्यकता पूरा भएर त्यही चियाको आनन्द मात्रै बाँकी भएजस्तो । कोही मःमको डल्ला बोकेर कुदिरहेका । कोही जहाजै बोकेर विदेशबाट फर्किएका । शहरभन्दा सुविधा सम्पन्न गाउँ । सुन फल्ने खेतबारी । हराभरा बालीनालीको बीचमा पनि घाँस मात्रै खान जानेका गाईभैँसी । अञ्जुलीले पानी उघाएर पिउन मिल्ने खोलानाला । सुन्दर गाउँबस्ती । जताततै सुख र समृद्धि । पुगिसरी आनन्दसँग बसेका मान्छे । एआईले त कमाल गर्दो रहेछ । जस्तो भन्यो त्यस्तै फोटो बनाउँदो रहेछ । एआईले फोटो त यति राम्रो बनाउँछ भने अरू काम झन् कस्तो गर्छ होला ?

यस्तो जाडोमा भात पकाउन मात्रै होइन, खान पनि अल्छी लाग्ने । एआईलाई मिठो भात पका र मलाई खान दे भन्ने अनि कोठाभित्र घाम नछिरेसम्म सुतिरहने ।

कामधन्दा र जागिर पनि कति गर्नु ? एआईलाई नै काम गर्न र जागिर खान जा भन्ने । काम गरेर कमाएको पैसा चाहिँ आफ्नो खल्तीमा हाल्न लगाउने । पैसा पनि किन थोरै माग्ने ? बिटाका बिटा नोट मगाउने, गन्न अल्छी लाग्यो भनेर एआईलाई नै गन्न लगाउने ।

एआईले जे भन्यो त्यही मान्ने भएपछि आफू दुःख र अभावमा किन बाँचिरहने ? एआईलाई भनेर मन परेको ठाउँमा भव्य महल बनाउने । आनन्दले बस्ने, रमाउने ।

जसो गर भन्यो उसै गर्ने एआई भएपछि नेताहरूलाई झनै सजिलो । मिसन ०८४ भनेर चार वर्षको तयारी अहिलेदेखि नै गर्नुपरेको छ । कहिले यता दौडनु परेको छ, कहिले उता भ्याउनु परेको छ । बेला न कुबेला मध्यावधि भन्दै बर्बराउनुपरेको छ । कसैलाई गठबन्धन भत्किएला कि भन्ने चिन्ता छ । बल्लतल्ल मिलेको कुर्सी हल्लने हो कि भन्ने डर छ । कसैलाई चाहिँ उसले मात्रै खाइरहने हो कि भन्ने छटपटी छ । एआईकाे जमानामा यस्तो चिन्ता र छटपटीमा कति बस्ने ? एआईलाई भनेर अहिले नै २०८४ अगाडि सार्न लगाउने । चुनाव पनि किन गरिरहन पर्‍याे र ?  एआईलाई नै भनेर आफ्नै पक्षमा बहुमत जुटाउने । आफूले जे जे सोचेको छ, त्यही त्यही पूरा गर्ने ।

सरकार र दलहरूले केही गरेनन्, भूकम्प पीडितको व्यथा नै बुझेनन् भनेर सबै आलोचना मात्रै गर्छन् । यस्तो आलोचना कति सुन्ने ? कति सहने ? एआईलाई नै भूकम्प पीडितको घर बनाउन लगाउने । भविष्यमा भूकम्प आउन सक्ने जमिनका चिरा, प्वाल सबै टाल्न भन्ने । पूर्व–पश्चिम रेल पनि एआईले नै कुदाउँछ । नदी खोलादेखि बर्खे खहरामा ठूल्ठूला पानी जहाज पनि एआईले नै चलाउँछ । सडक चिल्ला र फराकिला एआईले नै बनाउँछ । मेलम्चीको पानी पनि एआईले नै ल्याउँछ । देश विकासका लागि जे जे गर्नुपर्ने हो, त्यो सबै एआईले नै गर्छ ।

सबैथोक एआईले नै गर्न सक्ने भएपछि यस्ता कल्पना गर्न चाहिँ तपाईँ र मैले किन टाउको दुखाउने ? बाँकी कल्पनामा रमाउने जिम्मा पनि एआईलाई नै छोड्दिउँ न !

अन्तिम अपडेट: बैशाख १३, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया