दाङमा बस पल्टिँदा ज्यान गुमाएका १२ जनामध्ये ८ जनाको परिचय खुल्यो

 पुस २८, २०८० शनिबार ७:३१:२९ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको भालुवाङमा बस पल्टिँदा ज्यान गुमाएका १२ जनामध्ये ८ जनाको परिचय खुलेको छ ।

दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार परिचय खुल्नेहरुमा मकवानपुर हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाण्डौको चन्द्रागिरि नगरपालिका–१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामवरण हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत रहेका छन् ।

अरु चार जनाको अहिलेसम्म परिचय खुलेको छैन । शवलाई लमहीको लमही अस्पतालमा राखिएको छ । नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेको भे १ ख ३९१२ नम्बरको रात्रि बस गएराति भालुवाङको राप्ती पुलबाट खसेको थियो । बस पल्टिँदा अरु २३ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये १४ जनाको बाँकेको कोहलपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

सात जना घाइतेको बुटवल र बाँकीकाे भालुवाङमा उपचार भैरहेको छ । बसका चालक सल्यान घर भएका २८ वर्षीय लालबहादुर नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बस दुर्घटनाको कारण खुलिसकेको छैन ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया