किसानको आम्दानी बढाउन घोराही उपमहानगरले बनायो कृत्रिम जलाशय

 फागुन १७, २०८० बिहिबार १८:३९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – घोराही उपमहानगरपालिकाले पानीको स्रोत संरक्षण गर्दै किसानको आम्दानी बढाउन कृत्रिम जलाशय निर्माण गरेको छ । नगरलाई सुक्खा हुनबाट बचाउन जलाशय निर्माण अभियान अहिले प्रभावकारी बनेको छ ।

‘एक वडा, एक जलाशय’ अभियानअन्तर्गत प्रदेश र पालिकाको संयुक्त प्रयासमा अहिलेसम्म २८ वटा जलाशय निर्माण भइसकेका छन् । लुम्बिनी प्रदेश सरकारको ४५ लाख, पालिकाको ५० लाख र उपभोक्ताको पाँच लाख रुपैयाँ लागतमा जलाशय निर्माण गरिएको हो ।

घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा रहेको कृत्रिम जलाशयका कारण त्यस क्षेत्रमा पानीको समस्या हटेको किसान पूर्णबहादुर चौधरीले बताउनुभयो । जलाशयको पानीले सिँचाइ हुने भएपछि बाह्रै महिना तरकारी खेतीमार्फत आम्दानी पनि भइरहेको उहाँको भनाइ छ ।

कृत्रिम जलाशय निर्माण गरेपछि पानीको सहज आपूर्ति भएको किसानको भनाइ छ । ‘वडा नम्बर १७ र आसपासको वडामा सिँचाइका लागि पानी पुगेको छ । कर्जाही आसपासमा एक सय बिघाभन्दा धेरै जमिनमा यस जलाशयको पानीमार्फत सिँचाइ भई व्यावसायिक तरकारीखेती भइरहेको छ’, चौधरीले बताउनुभयो ।

घोराही उपमहानगरपालिकाले प्रदेश सरकारको आर्थिक सहयोगमा वडा नम्बर १ र २ को सीमा क्षेत्रमा पर्ने सुर्केडाँगीमा (चेपे ताल) मा तीन वर्षअघि झन्डै साढे सात बिघा क्षेत्रफलमा निर्माण गरिएको कृत्रिम जलाशयपछि खेतीपातीमा सहज भएको किसान मीना चौधरीले सुनाउनुभयो ।

‘जलाशय निर्माणपछि सिँचाइको समस्या छैन । यसले व्यावसायिक तरकारीखेतीमा सहयोग पुगेको छ’, उहाँले भन्नुभयो, ‘मैलेमात्रै काउली, बन्दा, गोलभेँडा गरी मासिक २० देखि २५ हजार रुपैयाँ आम्दानी गरिरहेकी छु । लौका, करेला, भिन्डी र काँक्राको खेती पनि राम्रो भइरहेको छ ।’

जलाशय संरक्षण समितिका अध्यक्ष एवम् वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डेले जलाशयमा माछापालनसँगै डुङ्गासमेत सञ्चालन गरिएको बताउनुभयो । अध्यक्ष पाण्डेका अनुसार कृत्रिम जलाशय प्रदेश सरकार र घोराही उपमहानगरको झन्डै एक करोड ८० लाख रुपैयाँको लगानीमा निर्माण भएको हो । ‘जलाशय ठूलो छ, त्यही कारण सिँचाइसँगै माछापालन, डुङ्गा सञ्चालन गरेर स्थानीय युवालाई रोजगारीसमेत दिएका छौँ’, पाण्डेले भन्नुभयो ।

सघन सिँचाइ आयोजनाले तीन, बृहत् सिँचाइ आयोजनाले एक, प्रदेश सरकारले तीन र उपमहानगरले २१ गरी पाँच वर्षमा २८ वटा कृत्रिम जलाशय निर्माण भएका छन् । गर्मीमा पानीको समस्या धेरै नै थियो । तीव्र सहरीकरणले नगरभित्रका सहरोन्मुख गाउँका कुँवा, इनार, ट्युबवेल, जरूवाजस्ता पानीका स्रोत सुक्दै गएका छन् ।

त्यसैले पशुचौपाया, वन्यजन्तु, चराचुरुङ्गीको बासस्थान सुरक्षित गर्न र सिँचाइका लागि कृत्रिम जलाशय निर्माण गरिएको हो । नगरलाई सुक्खा हुनबाट बचाउन शुरु भएको जलाशय निर्माण अभियान अहिले प्रभावकारी बनेको मेयर नरूलाल चौधरीले बताउनुभयो । उहाँले नगरमा पानीका स्रोत बचाउन पानी सङ्कलन केन्द्रमार्फत 'रिचार्ज' गरिएको उल्लेख गर्नुभयो ।

‘नगरमा जनघनत्व बढ्दै जाँदा सहरी क्षेत्र बढ्यो । जसले गर्दा पानीका मुहानहरू सुक्दै गए । पानीको अभावलाई कम गर्न र नागरिकलाई प्रत्यक्ष आम्दानीमा जोड्नका लागि कृत्रिम जलाशय निर्माण गरेका हौँ’, उहाँले भन्नुभयोे, ‘नयाँ निर्माण गरेका पोखरीमा वर्षामा पानी जम्मा गरिन्छ । जलाशय निर्माणले कृषिसँगै जमिन र पारिस्थितिक प्रणालीमा पनि सन्तुलन ल्याउने अपेक्षासहित हामीले काम गरेका हौँ’, उहाँले भन्नुभयो ।

जलाशय निर्माण भएका स्थानमा बाह्रै महिना खेती हुने गरेको किसानहरू बताउँछन् । घोराही क्षेत्रका जलाशय पाँच कट्ठादेखि पाँच बिघासम्म फैलिएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया