मुख भन्छ भुँडी भर, सरकार भन्छ अत्तर दल !

 फागुन २०, २०८० आइतबार १६:९:३७ | मिलन तिमिल्सिना
unn.prixa.net

आफ्नै मात्र एउटा भुँडी भएको भए पो केही न केही गरेर चित्त बुझाउनु, घरभरिका सबै भुँडी आफ्नै ! हातखुट्टा गलिसकेका बाआमाको भुँडी पनि आफ्नै । हातखुट्टा लाग्न नभ्याएका बालबच्चाका भुँडी पनि आफ्नै । बुढीको भुँडी पनि आफ्नै । बुढीको भुँडीभित्रको भुँडी पनि आफ्नै । दिनमा कम्तीमा पनि तीनफेर सबैका भुँडी एकैपटक कराउँछन् । मुखमा केही न केही नपार्दासम्म भुँडी कराउन छोड्दैन ।

भुँडीलाई शान्त पार्नुपर्‍याे भन्दै मुख बेलाबेला आँ गरिरहन्छ । मिठोमसिनो जे छ छिटो ले भनेर हातलाई दबाब दिइरहन्छ । हातमुख जोर्न कि साथमा दाम हुनुपर्छ कि माम । यी सबैथोक हुन काम हुनुपर्छ । भनेजस्तो काम, दाम र माम भयो भने मात्रै भुँडीलाई आराम हुने हो । तर केही महिना भयो न कसौँडीमा माम छ, न खल्तीमा दाम, न त दाम मिल्ने काम ! माम बनाउन चाहिने अन्नपात उब्जाउ हुने खेतबारी धेरै छैन । भको थोरै खेतबारीमा काम गर्ने जाँगर पनि हराइसक्यो ।

अस्तिभन्दा हिजो र हिजोभन्दा आज अत्यास झन् बढ्दो छ । राम्ररी श्वास फेर्न पाइएला कि भनेर आश गर्दागर्दै महिनौँ बितिसक्यो । अहिलेसम्म मुखमा अलिअलि चटाएर भए पनि भुँडीलाई थाममुम पार्दै आइएको थियो । अब अलिअलि चटाउने पनि नहुने भो । त्यसपछि आफ्नो र घरका सबै भुँडी एकैपटक कराउन थाले । सुनेन भनेर नाराजुलुस गरे । त्यसपछि मुखले अल्टिमेटम दियो– दुई दिनभित्र भुँडी भर, नभए सबै भुँडी एकैपटक विस्फाेट हुन्छन् ।

मुखले भुँडी भर्न चेतावनी दिएपछि केही त गर्नै पर्‍याे । चोर्न भएन, ढाँट्न भएन । मागेर कसले दिने ? सबैको हालत आफ्नैजस्तो । गाउँमा बसेर भुँडी भर्ने उपाय भएन । त्यसपछि शहर पसियो । शहरमा भुँडी भर्ने सजिलो उपाय सडक व्यापार । हुन त सडक गाडी हिँड्न र फुटपाथ मान्छे हिँड्न बनाइएको हो । तर जहाँ जे हुनुपर्ने हो, त्यहाँ त्यही नै हुनुपर्छ भन्ने के छ यो देशमा ! सरकार नागरिकको हितमा काम गर्न बनेको हो, तर खै त सरकारले नागरिकको पीरमर्का बुझेर काम गरेको ! दलहरू देश, समाज र नागरिकप्रति जिम्मेवार हुन बनेका हुन्, खै त नेताहरूले त्यो जिम्मेवारी पूरा गरेको ? सरकार र दलहरूले चाहिँ आफ्नो जिम्मेवारी र कर्तव्यअनुसार काम गर्न नपर्ने, अनि नागरिकले मात्रै सडक र फुटपाथको नियम मान्नुपर्ने भन्ने के छ ? त्यसमाथि यहाँ जसले नियम मिचेर अगाढि बढ्यो, उही छिटो गन्तव्यमा पुग्छ । सबैको हाईहाई हुन्छ । उही ठूलो मान्छे बन्छ । त्यसैले आफूले पनि आँटियो नियम मिचेर व्यापार गर्न ।

दुई/चार मुठा साग झोलामा हालेर बेच्न जाँदा सडकपेटीमै प्रहरीले रोक्यो, ‘यहाँबाट किन हिँडेको ?’

सडकपेटीबाट हिँड्न नमिल्ने हो र भनेर सोध्न नभ्याउँदै प्रहरीले भन्यो, ‘यो निषेधित क्षेत्र हो, तल सडकबाट हिँड्नु ।’

सडकबाट हिँड्न मिल्ने, सडकपेटीबाट नमिल्ने । गज्जबको नियम रैछ । जेसुकै होओस् आफूलाई त साग बेचेर दाम कमाउनु छ । अनि मुखमा माम हालेर भोकले उग्राइरहेको भुँडी शान्त पार्नु छ ।
अलि पर सडकपेटीमा साग राखेर बस्न नभ्याउँदै उताबाट सिठी फुक्दै र लौरो बजार्दै नगर प्रहरी आए । यहाँ राख्न मिल्दैन गइहाल भनेर झपारे ।

किन मिल्दैन भनेर सोधेको, मान्छेलाई हिँड्न अप्ठ्यारो हुन्छ भने । मान्छेलाई हिँड्न मिल्ने गरी कुनामा राख्छु नि भन्दा यसरी बाटोमा सामान राख्दा शहर कुरुप हुन्छ भने । यसो वरपर हेरेको, जथाभाबी तारको लहरोले शहर पहिलेदेखि नै कुरुप छ । जताततै मेलम्चीको पाइप फुटेर बाटो हिलाम्मे छ । धुवाँधुलो र फोहोर उस्तै छ । दुर्गन्ध उस्तै छ । कोही नाकमुख थुनेर लम्किरहेका छन् । कोही चिल्ला कारभित्र सिसाले छोपिएर हुइकिँदै छन् । धुलैधुलो लागेको कारभित्र सुकिलामुकिला अनुहार । यिनीहरूमध्ये कतिपय भ्रष्टाचार र अनियमितामा मुछिएका होलान् । उनीहरूलाई खोतलेर हेर्ने हो भने कति कुरुप देखिएलान् ? झुत्रेझाम्रे नै सही, तर उनीहरूको तुलनामा त मै राम्रो छु जस्तो लाग्छ । तर सरकार भन्छ, ‘तँ सडकपेटीमा बसिस् भने शहरको सुन्दरता बिग्रन्छ, भागिहाल् ।’

‘मुखमा केही परेको छैन हजुर, भुँडी कराएर बिजोग छ के गरम् त ?’

‘भुँडी भर्नतिर होइन, अत्तर किरिम छर्केर अनुहार चम्काउनतिर लाग् । अनुहार चम्काएर सुकिलोमुकिलो भइस् भने शहरमा हिँड्न मिल्यो । तर भुँडी भर्न भन्दै झुत्रेझाम्रे भएर सडकपेटीमा बस्न मिलेन ।’

‘तर भुँडीले लुछाचुँडी गरेर हैरान गर्‍याे हजुर, के गरौँ त ?’

‘त्यसो भए विदेश जाने । सबै विदेश गएका छन् त ।’

‘तर विदेश पनि सजिलै कहाँ जान मिल्छ र ?’

‘नभए उतै गाउँमा छ, तेरो आफ्नो भुँडी जेसुकै गर् । हाम्रो भुँडी भरिएकै छ क्यारे ।’

सरकारले सडकबाट फर्काएपछि रित्तो भुँडी चेप्दै गाउँ फर्कन लागेको छु । घरका अरू भुँडीसँग भेट हुनुअघि यो भुँडीलाई कहाँ लगेर बिसाउने हो, टुङ्गो छैन !

अन्तिम अपडेट: बैशाख १५, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया