गठबन्धन फेरिएपछि मान्छेमा आशा, छेपारोमा निराशा !

 फागुन २७, २०८० आइतबार १६:९:२८ | मिलन तिमिल्सिना
unn.prixa.net

भएभरका मान्छे निराश भैरहेको बेला दलहरूले एकाएक आशा र मनोरञ्जनको तरङ्ग भरिदिए । चन्द्रमामा चाँदीको घेरा झैँ असम्भव पनि सम्भव छ भन्ने पुष्टि गरिदिए । दैनिक गुजारा चलाउन नसकेर दिक्क भैरहेका नागरिकमा हौसला र उत्साह थपियो । आशा र विश्वास भरियो । रमाइलो र मनोरञ्जनको खात लाग्यो । दलहरूले केही गरेनन् भनेर निराश भैरहेका नागरिक एकैपटक धेरैथोक पाउँदा के गरौँ र कसो गरौँ, बुढी बाख्राको खुट्टा खाउँ कि झिलिमिली चटकमा रमाऔँ भन्ने ठूलो अन्याेल खडा भयो ।

राजनीतिमा यतिसम्म हुन्छ भन्ने कल्पना त हुन्थ्यो, तर यति छिटै यो हदसम्मको रमाइलो होला भन्ने कल्पना कसैले गरेकै थिएन । तर नपत्याएर भयो त ! हिजोसम्म मुख चाटाचाट गरिरहेका नेताहरू एक–अर्कालाई धारे हात लगाउने अवस्थामा पुगे । बिहानसम्म धारे हात लगाउने कार्यकर्ताहरू एक–अर्कालाई चाटाचाट गर्ने अवस्थामा फेरिए । राजनीतिको यो उथलपुथलबाट केही पनि असम्भव छैन भन्ने पुष्टि भयो । अब अर्थतन्त्रले टाट पल्टेर चुल्हो बाल्न नपाएका नागरिकलाई कसौँडीमा भात बसाल्न पनि सम्भव छ । विज्ञान र प्रविधिको क्षेत्रमा बामे सर्न नसकेको देशलाई चन्द्रमामा घरघडेरी बसाउन पनि सम्भव छ । आम्दानीको बाटो नभए पनि खल्तीमा पैसा भर्न सम्भव छ । बिहान बेलुका हातमुख जोर्न नपाएर पेट खाली भए पनि अघाउन सम्भव छ । सम्बन्धलाई उतिखेरै कस्न पनि सम्भव छ, उतिखेरै खुस्काउन पनि सम्भव छ । यस्ता अनेक असम्भावित कल्पनाहरू एकाएक सम्भव हुने कुरा रातारात पुष्टि भयो ।

सम्बन्धकै कुरा गर्दा घरभित्र श्रीमान्–श्रीमतीको हिमचिम र मनमुटावको प्रसङ्ग धेरैका लागि अनुभव र चासोको विषय हो । श्रीमान्–श्रीमतीको सम्बन्ध र झैझगडालाई कसैले परालको आगो भन्छन्, कसैले भुसको आगो । परालमा आगो लागेजस्तो उतिखेरै ह्वारह्वार र उतिखेरै सामसुम भएका उदाहरण पनि छन् । अनि भुसको आगो लागेजस्तो बाहिरबाट हेर्दा ठिकठाक, तर भित्रभित्रै जलेर खरानी भएका सम्बन्ध पनि त्यत्तिकै छन् । तर गठबन्धन फेरिएपछि श्रीमान्–श्रीमतीको घरझगडा फिक्का भएको छ । कसरी भन्नुहोला । एकपटक सत्तापक्ष हो कि विपक्षी हो भनेर आफ्नो कित्तामै अलमलमा परेको नागरिक उन्मुक्ति पार्टीलाई हेर्नुहोस् । श्रीमती रञ्जितालाई हटाएर आफू अध्यक्ष बन्ने श्रीमान् रेशमको प्रयास निर्वाचन आयोगले विफल गराइदियो । यतिसम्म त ठिकै थियो । अब श्रीमतीलाई सत्ता गठबन्धनको आश छ, श्रीमानलाई विपक्षी गठबन्धनको प्यार छ । अध्यक्ष श्रीमती भन्छिन्– सुदूरपश्चिम प्रदेशका मन्त्रीहरू फिर्ता आऊ । अध्यक्ष हुन नसकेका श्रीमान् भन्छन् मन्त्रीहरू फिर्ता नआऊ । श्रीमानले भनेको मान्नु कि, श्रीमतीले भनेको टेर्नु । त्यो त सत्ताको स्वाद कुन चाहिँ मिठो हुन्छ भन्नेले टुङ्गो लगाउने कुरो भयो । तर राजनीतिमा देखिएको श्रीमान्–श्रीमतीको द्वन्द्वले घरघरमा हुने झगडा र मनमुटाव मत्थर पार्न सहयोग पुग्ने भएको छ । झगडा नै गर्नु छ भने कुर्सीका लागि पो गर्नु, जाबो तरकारीमा नुन नलागेको, फेसबुकमा घोत्लिएको भन्ने सामान्य निहुँमा पनि के झगडा गर्नु भन्ने मान्छेलाई परेको छ । अब श्रीमान्–श्रीमतीले झगडा नै गर्नुछ भने सत्ताका लागि गर्छन्, अरू झिनामसिना कुरामा झगडा गरेर अल्झँदैनन् ।

गठबन्धन फेरिँदा मान्छेको घरभित्र आशा र उपलब्धिले बास गर्दा छेपाराको बस्तीमा भने निराशा र अन्योल उत्पन्न भएको छ । मान्छेहरूले अरू बेला छेपाराको वास्ता नगरे पनि उखान–टुक्कामा बेलाबेला छेपाराको नाम लिन्छन् । कसैले बोली र व्यवहार फेर्‍याे भने छेपाराले रङ्ग फेरेजस्तो भन्छन् । उखानमा आफ्नो नाम आउँदा अहिलेसम्म छेपारो मख्ख थियो । छेपारोको भ्रम थियो मान्छेले आफूले जस्तो रूप र व्यवहार फेर्न सक्दैनन् भन्ने । तर अब त्यो भ्रम टुट्यो । आफूले भन्दा मान्छेले रूप धेरै खालका फेर्न थाले । पोहोर जाडोमा घाम र गर्मी लाग्नेबित्तिकै रुख रोजेका प्रधानमन्त्री देखेर यी मान्छे आफूजस्तै रहेछन् भन्ने छेपारोलाई लागेको थियो । यस वर्ष गर्मी चढ्ने सुरसार भैरहँदा प्रधानमन्त्रीले फेरि घाम रोजेपछि छेपारोलाई लागेको छ– अब यी मान्छेले रङ्ग फेर्न हामीलाई नै पछि पारिदिए । अब उखान–टुक्कामा मान्छेहरूले छेपाराको नाम लिन छाड्ने भए । उखानमै भए पनि अस्तित्वमा रहेको छेपारोको नाम मेटिने भयो । गठबन्धन फेरिएलगत्तै छेपाराको बस्तीमा निराशा छाएको छ ।

जाबो छेपारोलाई जेसुकै होओस् न, मान्छेहरूलाई त हुनसम्म भइसक्यो । आफू जिउँदो हुँदासम्म यस्ता उथलपुथल भैरहन्छन् भनेर प्रधानमन्त्रीले भनिसके । मुखमा गाँस आओस् कि नआओस्, तर उथलपुथल आउने पक्का भयो । नागरिकको जीवनस्तर फेरिने नफेरिने ठेगान छैन, तर गठबन्धन फेरि पनि फेरिन सक्ने सम्भावना यथावत् रह्यो, पक्का भयो । गठबन्धन फेरबदल भैरहँदा वाचा, प्रतिबद्धता, भाषण र नारा फेरिई रहन्छन् । एकथरीको कुरा मात्रै सुन्दासुन्दा वाक्क भएका नागरिकलाई पटकैपिच्छे आशा र मनोरञ्जन थपिन्छ । खेतबारीमा बालीनाली नसप्रेर के भयो त, ढुङ्गो टुसाउँछ भन्ने कुरामा नागरिक ढुक्क भएका छन्, उनीहरूको आत्मविश्वास र मनोबल बढेको छ । त्यसैले पर्खाैँ र हेराैँ, यसपालिको ढुङ्गो कहिलेसम्म टुसाउँछ !

अन्तिम अपडेट: बैशाख १५, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया