भृकुटीमण्डपमा पुष्प मेला : तिहारबाहेक अरू समयमा प्रयोग हुने फूलमा देश आत्मनिर्भर

 चैत २, २०८० शुक्रबार १२:७:२१ | रासस
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको भृकुटीमण्डपमा २५ औँ पुष्प मेला शुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह–आयोजनामा हिजोदेखि शुरु भएको मेला पर्सि आइतवारसम्म सञ्चालन हुनेछ ।

मेलामा व्यावसायिक ६०, ल्यान्डस्केपिङ तीन, अफिसियल आठ, प्रतियोगितात्मक प्रदर्शनी एक र फूड एकसहित ७३ वटा स्टल रहेको एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो । मेला झन्डै ५० हजार जनाले अवलोकन गर्ने र एक करोड रुपैयाँको कारोबार हुने विश्वास लिएको पनि उहाँले बताउनुभयो ।

मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय ५० र विद्यार्थीका लागि एक सय रुपैयाँ शुल्क तोकिएको छ । तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्रीका मालामात्रै भारतबाट ल्याउने गरिएको भन्दै अरू समयमा प्रयोग हुने फूलमा देश आत्मनिर्भर भइसकेको एसोसिएसनले जनाएको छ ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ वटा जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा अहिले व्यावसायिकरूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् ।

कात्तिकदेखि फागुनसम्म विभिन्न चार्डपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । नेपालमा झन्डै एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले फूलखेती गर्दै आएका एसोसिएसनका अध्यक्ष तामाङले जानकारी दिनुभयो । वार्षिक तीन अर्ब सात करोड रुपैयाँको फूलको कारोबार हुने गरेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया