हुम्लाको सिमकोटमा दैनिक ११ घण्टा बिजुली कटौती

एसईईको तयारीमा रहेका विद्यार्थीसहित उपभोक्ता मर्कामा

 चैत ३, २०८० शनिबार १२:४२:२१ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

हुम्ला — सिमकोटमा दैनिक ११ घण्टाभन्दा धेरै बिजुली कटौती हुँदा एसईईको तयारीमा रहेका विद्यार्थीसहित उपभोक्ता मर्कामा परेका छन् । एसईई दिने विद्यार्थीलाई पढ्न तथा अरु विद्यार्थीलाई गृहकार्य गर्न समस्या छ । चैत १५ गतेदेखि एसईईको परीक्षा शुरु हुँदैछ । विद्यार्थीलाई रातको समयमा पढ्न समस्या हुँदै आएको छ ।

खार्पुनाथ गाउँपालिका–३ को हुम्ला मा.वि. रायाका विद्यार्थी रेलबहादुर बुढाले बिजुली कटौती हुँदा पढ्न नपाएको गुनासो गर्नुभयो । सदरमुकाम आएर एसईईको तयारी गरिरहेको भए पनि रातिको समयमा पढाइमा बाधा पुगेको उहाँको भनाइ छ । जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा सदरमुकामको व्यापार–व्यवसाय पनि प्रभावित बनेको छ ।

विद्युत् कटौतीको सहि समय तालिका नभएका कारण पनि सेवाग्राही समस्यामा परेका छन् । एक भारी दाउराको सिमकोटमा एक हजार रुपैयाँ तिर्नुपर्ने अवस्था छ ।

नेपाल विद्युत् प्राधिकरण हुम्लाका निमित्त प्रमुख सुशील थारुले प्राधिकरणले लोडसेडिङको तालिका नबनाएको बताउनुभयो । हिल्दूमा रहेकाे साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत घटबढ भैरहने भएकाले विद्युत् भार कटौतीको तालिका बनाउन समस्या भएको निमित्त प्रमुख थारुले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया