सुननेताका सुन तर्क : देशै सुनौलो बनाउन सुन तस्करी !

 चैत ४, २०८० आइतबार १४:१७:३९ | मिलन तिमिल्सिना
unn.prixa.net

फाइल फाेटाे

सुनौलो अक्षरमा लेख्ने गरि देश बनाउन सुन खोज्दै हिँडेका नेताजीलाई मान्छेले कुरै नबुझी तस्कर भन्छन् । तस्करसँग हिमचिम गर्‍याे भनेर गाली गर्छन् । छोराहरूलाई सुनको भारी बोकायो भनेर रिस गर्छन् । तर सुनको सुनौलो कुरा सुन्दैनन् । सुन तस्कर भनेर रिस गर्नेहरूले ध्यान दिएर सुन, सुनको तस्करीले देशलाई कुनै बेफाइदा छैन, फाइदै फाइदा छ ।

देशका विभिन्न ठाउँमा सुनखानी भन्ने नाम छन् तर त्यहाँबाट कसैले सुन निकाल्दैनन् । नदीको नाम सुनकोशी छ, तर नदीमा सुन होइन पानी बग्छ ।

कतिपय महिलाको नाम सुनकेस्री र सुनमाया हुन्छ । तर न उनलाई सुनले माया गर्छ, न सुनको केस्रै देख्न पाइन्छ ।

पूजाआजा र कसैको स्वागत सत्कारमा घडा राख्नुपर्दा सुनकल्छे घडा खोजिन्छ । तर नाम मात्रै सुनकल्छे, घडा चाहिँ कि पित्तलको हुन्छ कि ढलोटको ।

जङ्गली रुखका कापमा उम्रने र फूल फुल्ने घाँसलाई सुनगाभा भनिन्छ । सुनकेवँरा नामको अर्को जातको फूल पनि हुन्छ । पहेँलो सुगन्धित फूल फुल्ने झुप्पादार फल फल्ने र पहेँलो काठ हुने अर्को जातको रुखलाई सुनचाँप भनिन्छ । सुनटिकी नामको पहेँलो फूल फुल्ने बिरुवा पनि हुन्छ । अनि मसिना धेरै टीका हुने पात र कलेजी रङ्गका फूल हुने, हिमालयका आसपासमा पाइने एक रुखलाई सुनपाती भनेर चिनिन्छ । वनमा पाइने आकाशबेली लहरोलाई सुनलहरो भनिन्छ । तर सुन जोडिएका यी कुनै पनि फूल र रुखका फूल, पात र हाँगाको गहना लगाएर हिँड्न मिल्दैन ।

किरा र चराको नाममा पनि सुन जोडिएको हुन्छ । पहेँलो खालको किरालाई सुनकिरी भनिन्छ । विषालु जातको बारुलोलाई सुनबारुलो भनिन्छ । पखेटा पहेँलो भएको कुखुरालाई सुनकुखुरा भनिन्छ । तागाधारीले कुखुरो खान थालेपछि कसैले कुखुरोलाई नै सुनपङ्खी भन्न थाले । पहेँलो रङको एउटा चराको नाम नै सुनटालो हो । तर नाममा सुन जोडिँदैमा यी चरा, कुखुरा र किरा सुनजस्तो महँगा हुँदैनन् । तिनीहरूलाई काटेर र मारेर हाडछालाको गहना बनाउन पनि मिल्दैन ।

पूर्वतिर एउटा जिल्लाको नामै सुनसरी छ । मुद्दा, गुनासो र सुझाव बेलैमा नसुने पनि ठूलाबडाहरू सुनवाइ भयो भन्छन् । सोचेभन्दा बढी भयो भने सुनमा सुगन्ध भयो भन्छन् । त्यसो त उमेरमा सबैले आफूलाई सुन्दर र सुन्दरी बनाउन हरसम्भव कोसिस गर्छन् । फलको नाम पनि सुन्तला, मान्छेको रूप सुन्दर र सुन्दरी । सपना सुनौला । अनि आफूलाई चोख्याउन भन्दै सुनपानी खोज्नेहरू पनि अझै छन् । कथामा सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला भन्छन् ।

तर जताततै सुन जोडिए पनि माला पुग्ने गरी सुन खै ? सुनबहादुरको हात पनि रित्तो, सुनमायाको कान पनि रित्तो । सुनखानी पनि सुनसान । सुनौला सपना पनि सामसुम । खोलानाला, पातपतिङ्गर, रुखबिरुवा, किरा–फट्याङ्ग्रा, चराचुरुङ्गी र ठाउँको नाममासमेत सुन जोडिएपछि देश धनी हुनुपर्ने हो । तर देश झन्–झन् गरिब भइरहेको छ । सुन झन्–झन् महँगो भइरहेको छ ।

नामअनुसार देश र नागरिकलाई सुन्दर र सुनौलो बनाउन जताततै सुनको छेलोखेलो हुनुपर्छ । तर यो काम जोसुकैले गर्न सक्दैन । काम फत्ते गर्न कि तस्कर हुनुपर्छ कि तस्करलाई सघाउने नेता । तस्कर एक्लैको प्रयासले देशमा भनेजति सुन भित्रिन सकेन । लुकाएर पनि सकिएन, छकाएर पनि सकिएन । केही प्रहरी र कर्मचारीको प्रयासले मात्र पनि तस्करलाई सहायता पुगेन । त्यसका लागि नेता नै लाग्नुपर्‍याे । नेताकै छोराहरू अघि सर्नुपर्‍याे ।

त्यसैले केही नेताहरू देशलाई सुन्दर र सुनौलो बनाउने अभियानमा सुनको पछि लागेका छन् । सबै काम छोडेर सुनका डल्लासँग भिडेका छन् । कहिले यता ओसारेका छन्, कहिले उता पुर्‍याएका छन् । तस्करहरूसँग सङ्गत बढाएका छन् । देश गरिब छैन, सुन भित्रिरहेको छ भन्ने प्रमाणित गरिदिएका छन् । नेताहरूले काम गरेर देखाउने अवसर पाएका छन् । नेताका छोरा र नजिकका मान्छेहरू रोजगार भएका छन् ।

बजारमा महँगो नै किन नहोस्, देशमा जताततै सुन पुगिसक्यो भन्नेमा मान्छे ढुक्क छन् । छुनै नसकिने महँगो धातु देशभित्र ओसारपसार भइरहनु समृद्धिको एउटा मानक पनि हो । देशलाई सुन्दर र सुनौलोसँगै समृद्धि बनाउने यो अभियानको मुक्तकण्ठले प्रशंसा गर्न छाडेर मान्छेहरू आरिस मात्रै गर्छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया