गृहयुद्धका कारण सुडानका नागरिक यौन तथा जातीय हिंसा खेप्न बाध्य

 चैत ७, २०८० बुधबार १२:५:२८ | एजेन्सी
unn.prixa.net

एजेन्सी

सुडानको गृहयुद्धका कारण त्यहाँका नागरिकले बलात्कार, जातीय हिंसा र ज्यानै गुमाउनु पर्ने डरलाग्दो अवस्थाबारे बताएका छन् । उनीहरुले शारीरिक यातना र यौन हिंसाका घटनाबारे जानकारी दिएका बीबीसीले जनाएको छ ।

गृहयुद्धबाट बाँच्न सफल भएका नागरिकले हत्या र बलात्कारको पीडासँग भोकमरीको चपेटामा परेको बताएका खबरमा उल्लेख छ । सुडानमा एक वर्षदेखि सेना र र्‍यापिड सपोर्ट फोर्स, आरएसएफबीच राजधानी खार्तुमसहितका सहरमा युद्ध भईरहेको छ ।

अफ्रिकी र अरब समुदायहरूबीचको हिंसाका कारण सुडान वर्षौंदेखि अशान्ति र हिंसामा छ । आरएसएफका विद्रोहीले महिलाहरुलाई बलात्कार गर्ने गरेको पीडितले बताएका बीबीसीको रिपोर्टमा उल्लेख छ ।

संयुक्त राष्ट्रसंघले पछिल्लो द्वन्द्वका कारण सुडान इतिहासमै सबैभन्दा ठूलो सङ्कटमा फसेको टिप्पणी गरेको छ । गृहयुद्धका कारण अहिलेसम्म १४ हजारभन्दा बढीको ज्यान गएको तथ्याङ्क रहे पनि यो सङ्ख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया