पानी परेपछि पूर्वी क्षेत्रका किसान खुसी, जङ्गलमा लागिरहेको डढेलो निभाउन सहयोगी हुने

 चैत ७, २०८० बुधबार १५:२९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पानी परेपछि पूर्वी क्षेत्रका किसान खुसी भएका छन् । यसअघि तुलनात्मकरूपमा पश्चिमी क्षेत्रमा केही बढी वर्षा तथा हिमपात भए पनि पूर्वी क्षेत्रमा सुक्खा भएको थियो । तर गए रातिदेखि पूर्वी क्षेत्रमा पनि वर्षा भएको हो ।

पछिल्लो १२ घण्टामा बाग्मती प्रदेश र त्यसभन्दा पूर्वी क्षेत्रको धेरैजसो ठाउँमा वर्षा भएको छ । पानी परेका कारण मकै छर्न सजिलो भएको इलामका किसान मातृका खतिवडाले बताउनुभयो ।

यस्तै पूर्वी पहाडमा धेरै खेती भइरहेको अलैँची खेतीलाई पनि वर्षाले फाइदा पुर्‍याएको छ । उच्च हिमाली क्षेत्रमा हिमपातका कारण आलुखेतीलाई फाइदा पुगेको र वर्षाले पहाडी तथा तराई क्षेत्रमा गहुँ, मकै, तोरी तरकारी बालीका लागि राम्रो भएको बालीविद् डा. डिल्लीराम शर्माले बताउनुभयो ।

आजदेखि परेको पानी काठमाण्डौ उपत्यकामा आज बेलुकासम्म र कोशी तथा मधेश प्रदेशमा पर्सि शुक्रवारसम्म पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाले बताउनुभयो । लामो समयको खडेरीका कारण खेतबारीमा सुक्खा लागेको बेला भएको वर्षाले आफूहरूलाई खुशी बनाएको किसानको भनाइ छ ।

यस्तै पछिल्लो केही हप्तादेखि विभिन्न जङ्गलमा भइरहेको डढेलो निभाउन पनि यो वर्षा सहयोगी बनेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया