नेपालगञ्ज–गुलरिया सडक खण्ड कालोपत्र हुन थाल्यो

 चैत ७, २०८० बुधबार १६:४८:६ | रासस
unn.prixa.net

बाँके – हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्ड कालोपत्र गर्न थालिएको छ । नेपालगञ्जको नन्दनी मिलबाट एकतर्फी कालोपत्र गर्न शुरु भएको निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले बताउनुभयो ।

यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न गर्ने तयारीका साथ लागिपरेको उहाँले बताउनुभयो । नन्दनी मिलबाट शुरु भएको कालोपत्रको काम अहिले जानकी गाउँपालिकाको मानपुर क्षेत्रसम्म पुगेको छ । याे सडक ११ दशमलव ६ किलोमिटर चार लेन र १६ दशमलव दुई किलोमिटर दुई लेन गरी २७ दशमलव ६२ किलोमिटर लामाे छ । २०८२ साल मङ्सिर २७ गतेभित्र सडक विस्तारकाे काम सक्ने गरी गएकाे वर्ष माघ १५ गतेदेखि निर्माण शुरु भएको हो ।

शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि करबाहेक दुई अर्ब ७८ करोड २९ लाख रुपैयाँमा निर्माणको जिम्मा पाएको हो । एक वर्षको अवधिमा ६० प्रतिशत काम सकिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया