काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वी क्षेत्रमा दिनभर झरी पर्ने सम्भावना

 चैत ८, २०८० बिहिबार ६:२७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका मध्य तथा पूर्वी क्षेत्रमा वर्षा भएको छ । हिजोदेखि शुरु भएको झरी आज पनि कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशका केही ठाउँ तथा कोशी र मधेश प्रदेशका धेरै ठाउँमा हल्का वर्षा भैरहेको छ ।

दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने मौसमविद सञ्जिव अधिकारीले जानकारी दिनुभयो । भोलि र पर्सिको मौसम पनि यस्तै रहने उहाँको भनाइ छ । उहाँका अनुसार तीन दिनसम्म मौसम पूर्ण रुपमा सुधार हुने सम्भावना छैन ।

पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले पानी परेको हो ।

महाशाखाका अनुसार विशेषगरी कोशी, मधेस र बाग्मती प्रदेशमा वर्षा भएको छ । यस्तै लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा पनि पानी परेको छ ।

पानी परेपछि किसान खुशी भएका छन् । तराई र पहाडी क्षेत्रमा मकै लगाउने सिजन भएकाले अहिलेको वर्षाले राहत पुगेको छ । यस्तै गहुँ, तोरी, मुसुरो लगायतका हिउँदेबाली र तरकारी बालीमा पनि फाइदा गरेको छ ।

साथै वनजङ्गलमा लागेको डढेलो निभाउन पनि अहिलेको पानीले सहयोग पुर्‍याएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया