भारतमा अत्यधिक गर्मीमा काम गर्ने गर्भवती महिलामा गर्भपतन र मृत बच्चा जन्मने जोखिम उच्च

 चैत ८, २०८० बिहिबार १५:४०:५५ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

भारतमा अत्यधिक गर्मीमा काम गर्ने गर्भवती महिलामा गर्भपतन र मृत बच्चा जन्मने जोखिम उच्च रहेको पाइएको छ । एक अध्ययनअनुसार भविष्यमा हुने आमाहरूका लागि जोखिम पहिलेको भन्दा निकै बढ्ने पनि सम्भावना छ ।

सन् २०१७ मा चेन्नईको श्री रामचन्द्र उच्च शिक्षा तथा अनुसन्धान संस्थानले शुरु गरेको अध्ययनमा दक्षिणी भारतीय राज्य तमिलनाडुका आठ सय जना गर्भवती महिलाले भाग लिएका थिए । झन्डै आधा सहभागीहरूले कृषि, इँटा भट्टी र नुन उद्याेगजस्ता उच्चस्तरको तापको जोखिममा रहेका काम गरेका थिए । अन्यले विद्यालय र अस्पतालजस्ता चिसो वातावरणमा काम गरेका थिए ।

अध्ययनले चिसोमा काम गर्ने गर्भवती महिलाको तुलनामा गर्मीमा काम गर्नेहरूको गर्भपतनको सम्भावना दुई गुणा धेरै रहेको देखाएको बीबीसीले जनाएको छ । अध्ययनमा सहभागी गर्भवती महिला जलवायु परिवर्तनको अनुभव गर्ने अग्रपङ्क्तिमा रहेका खबरमा उल्लेख छ ।

पृथ्वीको औसत तापक्रम यो शताब्दीको अन्त्यसम्ममा झन्डै तीन डिग्रीले बढ्ने अनुमान गरिएको छ । यसले विश्वभरका महिलालाई नै थप समस्यामा पार्ने अनुसन्धानले देखाएको छ । यसअघि गरिएको अध्ययनले गर्मीको लहरमा समयपूर्व जन्म र मृत जन्मको जोखिममा १५ प्रतिशतको वृद्धि भएको देखाएको छ । यी अध्ययन सामान्यतया अमेरिका र अस्ट्रेलियाजस्ता उच्च आय भएका देशहरूमा गरिएको थियो । तर अहिले भारतमा गरिएका अध्ययनका निष्कर्षहरू झन् कठोर र चिन्ताजनक रहेको अध्ययनमा सहभागी वैज्ञानिकहरूमध्ये एक प्रोफेसर जेन हर्स्टले बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया