गाजा क्षेत्रमा दैनिक कम्तीमा ३७ जना आमाकाे ज्यान गइरहेकाे छ : साेसाइटी

 चैत ९, २०८० शुक्रबार १२:२६:२६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

गाजा पट्टीमा जारी इजरायली आक्रमणका कारण दैनिक औसत कम्तीमा ३७ आमाको ज्यान गइरहेको प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले जनाएको छ ।

विश्व समुदायले हिजो मातृ दिवस मनाइरहँदा प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले यो तथ्याङ्क सार्वजनिक गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । द कमिसन अफ डिटेनिज एन्ड एक्स–डिटेनिज अफेयर्स र प्यालेस्टिनियन प्रिजनर्स क्लब एसोसिएशनले संयुक्त विज्ञप्ति निकालेर गाजामा जारी इजरायली आक्रमणले प्यालेस्टिनी आमा र बालबालिकाको ठूलो सङ्ख्यामा ज्यान गएको जनाएका खबरमा उल्लेख छ ।

गएको अक्टोबरमा प्यालेस्टिनी विद्रोही समूह हमासविरुद्ध चौतर्फी सङ्घर्ष शुरु भएदेखि इजरायली सेनाले गाजा क्षेत्रमा ठूलो सङ्ख्यामा महिलालाई पक्राउ गरेका थिए । सन् २०२३ को अक्टोबरपछि आमासहित प्यालेस्टिनी महिला कैदीविरुद्ध इजरायली अपराध र उल्लङ्घनका घटना नाटकीयरूपमा बढेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच गएको वर्षको अक्टोबर ७ मा इजरायल–हमास सङ्घर्ष शुरु भएपछि गाजा पट्टीमा अहिलेसम्म ३१ हजार नौ सयभन्दा धेरै जनाको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया