तोकिएकै समयमा सक्ने भने पनि एमसीसीका परियोजनाको प्रक्रियामै अलमल

 चैत ११, २०८० आइतबार १२:४०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – पाँच वर्षभित्र तोकिएकै मितिमा सक्ने भने पनि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत एमसीए नेपालका परियोजना प्रक्रियाकै चरणमा अल्झिएका छन् । विद्युत् प्रसारण लाइन र सडक निर्माणका दुवै योजनामा सात महिना बित्न लाग्दा पनि जग्गा अधिग्रहणदेखि ठेक्का प्रक्रियासमेत अलमलमै रहेको छ ।

एमसीए नेपालको परियोजना गएको भदौ १३ गतेदेखि पूर्ण रुपमा लागू हुने चरणमा गएको हो । तीन सय १५ किलोमिटर लामो चार सय केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि एमसीए नेपालले झण्डै एक हजार ४७१ हेक्टर जमिन आवश्यक पर्ने जनाइएको छ । अहिलेसम्म रातामाटेको सबस्टेसन लागि २० दशमलव २७ हेक्टर जमिन अधिग्रहणको कार्य सकिएको छ ।

प्रसारण लाइनका टावरका लागि मात्रै १० जिल्लामा एक सय चार हेक्टर जमिन अधिग्रहण आवश्यक हुन्छ तर अहिले स्थलगत अनुगमनबाहेक थप प्रगती भएको छैन । लामो तयारीपछि आह्वान गरेको बोलपत्र प्रक्रिया नै रद्द गरिएको छ । पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको सडकको स्तरोन्नतिको काम पनि कागजी प्रक्रियाबाट बाहिर आउन सकेको देखिँदैन ।

एमसीए नेपालका अनुसार ४० किलोमिटर लामो यो सडकको प्रारम्भिक वातावरणीय मूल्याङ्कन प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । यसको बोलपत्र आउँदो असारभित्र आह्वान गर्ने प्रतिबद्धता एमसीए नेपालले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया