आजको बदलिँदो प्रदर्शनमुखी नेपाली समाज एक गम्भीर सामाजिक विकृतिका रूपमा देखा पर्न थालेको छ । जीवनशैली, रहनसहन, सामाजिक सम्बन्ध, सञ्चार माध्यम र प्रविधिको प्रयोगसँगै समाजमा देखिएका तडकभडक, बनावटीपनर बाह्य चमकप्रतिको मोहले समाजको संरचना नै परिवर्तन गरिरहँदा यसको प्रभाव सामाजिक, आर्थिक र सांस्कृतिक मात्र नभई राजनीतिक तहसम्मै फैलिएको छ ।
यस्ता विकृति प्रवर्द्धन गर्ने प्रमुख कारकमध्ये सामाजिक सञ्जालको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको देखिन्छ । भाईरल पात्रहरुलाई नायक जस्तो देखाएर प्रचार र सनसनीपूर्ण प्रस्तुति गरिदिंदा समाजको समस्यालाई समाधान गर्नुको सट्टा अझ जटिल बनाइरहेका छन् । साथै, जीवनका अत्यन्त निजी पक्षहरू सार्वजनिक गर्ने, कृत्रिम जीवनशैली देखाउनेर कहिलेकाहीं असामाजिक क्रियाकलापसमेत प्रचार गर्ने प्रवृत्ति बढेको छ । ‘लाइक’ र ‘फोलोअर्स’ को सङ्ख्या सामाजिक प्रतिष्ठा मापन गर्ने मापदण्ड बनेको छ । यसले क्षणिक उत्साह त ल्याउला, तर दीर्घकालीन रूपमा निराशा र अविश्वास फैलाउँछ । यसले युवापुस्तामा गलत आदर्श स्थापित गराउँदै उनीहरूलाई आत्ममूल्याङ्कनभन्दा बाह्य प्रदर्शनमा केन्द्रित गराइरहेको छ । परिणामस्वरूप यथार्थवादी सोच, विवेकशील आलोचना र मूल्यमा आधारित नेतृत्व पृष्ठभूमिमा धकेलिँदै गएको देख्न सकिन्छ ।
विशेषगरी, हाम्रा मौलिक चाडपर्व, भोजभतेर र सामाजिक कार्यक्रमहरू अब आत्मीयता र परम्पराको उत्सव बन्नुको सट्टा, सामाजिक प्रतिस्पर्धा र देखावटी प्रदर्शनको मञ्चमा रूपान्तरित हुँदै गइरहेका छन् । चाडपर्वको मौलिकतालाई प्राथमिकता नदिई अनावश्यक गरगहना र नयाँनयाँ पहिरनको प्रदर्शनकोचर्को होडबाजी चल्दैछ । मानिसहरू आफ्नो वास्तविक क्षमता र जीवनशैलीलाई ओझेलमा राख्दै, ‘सामाजिक प्रतिष्ठा’ को नाममा कृत्रिमता अँगाल्न थालेका छन् । तीज आउनु एक महिनाअघि नै शुरु हुने ‘दर खाने’ शृङ्खला होस् या विवाहमा मौलिक नेपाली रीतिथितिलाई बिर्सिएर भारतीय हल्दी, मेहन्दी जस्ता आयातित परम्परालाई अनुशरण गर्नु जस्ता कार्यले हाम्रो मौलिक संस्कारलाई विस्थापित गर्दै गलत परम्पराहरूको स्थापना गर्नुका साथै होली जस्ता पर्वहरूमा स्वास्थ्यमा हानि पुर्याउने रसायनयुक्त रङ्गहरुको प्रयोगलाई प्रवर्द्धन गरिनु पनि चिन्ताको विषय हो । त्यस्तै, कुनै कार्य प्रारम्भ गर्नुपूर्व केक काट्नेदेखि बच्चा जन्मिनु अगाडि ‘बेबीसावर’ मनाउनेजस्ता देखावटी र प्रदर्शनमुखी प्रवृत्तिले नेपाली समाजमा संस्कारभन्दा बाहिरी तामझामलाई महत्त्व दिइरहेका छन् । आत्मीय सन्तुष्टि ओझेलमा पर्दैछ, सामाजिक सम्बन्ध सतही बन्दैछन्, आर्थिक सन्तुलन गुम्दैछ । खर्चको दबाबले धेरै परिवारहरू ऋणको जालोमा परिरहेका छन्, जसको दीर्घकालीन असर स्वरूप युवाशक्ति विदेश पलायन हुन बाध्य छन् ।
आजको समाज एक यस्तो विडम्बनापूर्ण मोडमा उभिएको छ, जहाँ आस्था र संस्कारका नाममा आयोजना गरिने पूजापाठ र ब्रतबन्धजस्ता धार्मिक क्रियाकलाप पनि देखावटी भोज र मादक पदार्थको चपेटामा पर्न थालेका छन् । धर्मको शुद्धता अब स्वाद र सेवनको परिभाषामा हराउँदै गएको छ । जहाँ विगतमा आशीर्वाद, संयम र साधनालाई प्राथमिकता दिइन्थ्यो, आज त्यही स्थान र समारोहमा रमझम र रक्सीको रङ चढिरहेको छ । यतिमा मात्र सीमित छैन, मन्दिरजस्ता पवित्र स्थल वा ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेका थलोहरूमा पुग्दा मानिसहरूको ध्यान अब भावनात्मक अनुभूति वा आध्यात्मिक चिन्तनमा होइन, एक सेल्फीको एङ्गल मिलाउनमा केन्द्रित हुन्छ । कुनै एक मूर्तिको मुहारभन्दा, आफ्नै अनुहारमा फिल्टर लगाएर टिकटक बनाउने हुटहुटी छ । दर्शनभन्दा प्रदर्शनले ठाउँ ओगटेको यो परिवेश, एक झुटो तामझाम प्रवर्द्धन गर्ने समाजको सजीव चित्रण हो, जहाँ आस्था भन्दा देखावाटीपनालाई महत्त्व दिन थालिएको छ ।
त्यसैगरी, नेपाली समाजले भौतिकता र बाह्य चमकलाई पनि बढी प्राथमिकता दिइरहेको छ । आइफोन, गाडी र विलासिताका साधनको उपयोगले मानिसको सामाजिक हैसियत मापन गर्न थालिएको छ । आत्मनिर्भर भई स्वदेशमै केही सिर्जना गर्ने सपना देख्ने युवाको सपना अब व्यङ्ग्यको विषय बन्न थालेको छ । विवाहजस्तो गम्भीर सामाजिक सम्बन्ध समेत अब एक प्रकारको ‘सोशियो–इकोनोमिक अपग्रेड’ को माध्यममा रूपान्तरित भइसकेको छ । ‘नेपालमै केही गर्छु’ भन्ने आदर्श बोकेका युवकहरूलाई अस्वीकृत गरिन्छ र अमेरिका, अस्ट्रेलिया र युरोप’को पी–आर पाएका व्यक्तिबाट जीवनको सुख खोजिन्छ ।
यस्ता प्रवृत्तिले समाजको मूल्य प्रणालीलाई नै धमिलो बनाइरहेको छ । परिश्रम, लगन, इमानदारीता र आत्मनिर्भरता जस्ता गुणहरू ‘सेकन्डरी’ बनेका छन् र ‘कहाँ बस्छ ? कुन गाडी छ ? कुन ब्रान्डको मोबाइल बोकेको छ ?’ भन्ने प्रश्नहरूले मानिसको चरित्रभन्दा ठूलो स्थान ओगट्न थालेका छन् । समाजको यस्तो दिशाहीन मोहले युवा वर्गको आत्मबल र स्वदेशप्रतिको भरोसामाथि प्रत्यक्ष चोट पुर्याइरहेको छ । यदि यो क्रम चलिरह्यो भने आधुनिकताको नाममा हामी आत्मशून्यता र सांस्कृतिक विखण्डनतर्फ अग्रसर हुनेछौं, जहाँ भौतिकता मात्र छतर आत्मा छैन ।
त्यस्तै, पछिल्लो समय नेपाली सङ्गीत क्षेत्रमा पनि आडम्बरता या भनौ झुटा चमकधमक हावी हुँदै गएको छ । बजारमुखी सोचका कारण गीतहरूमा शब्दको मर्यादा, भावनात्मक गहिराइको अभाव छ र सङ्गीतको शुद्धतालाई नजरअन्दाज गरिएको छ । अश्लील बोल, उत्तेजक नृत्य र यथार्थभन्दा टाढा रहेका दृश्यहरूले भरिएका सामग्रीहरू ‘हिट’ का नाममा प्रचार भइरहेका छन् । यसले युवापुस्तामा भ्रम फैलाउनुका साथै सांगीतिक क्षेत्रलाईसमेत विकृत बनाइएको छ । सस्तो लोकप्रियताको पछि लागेर यस्ता सिर्जनाकारलाई नायक बनाइँदा यथार्थपरक र सशक्त सिर्जना गर्ने सर्जकहरू ओझेलमा परेका छन्, जसले दीर्घकालीन रूपमा नेपाली सङ्गीतकाे मौलिकता र गरिमामा गम्भीर असर पार्ने देखिन्छ ।
मुलतः विदेशी शक्ति र संस्थाहरूको हस्तक्षेप बढ्दै जाँदा नेपाली समाज बाह्य शक्तिका देखावटी संस्कार र जीवनशैली पछ्याउँदै आफ्नो मौलिकता र पहिचान विस्मृत गर्ने दिशामा अघि बढेको छ । परिणामस्वरूप, नेपाल केवल भूराजनीतिक गोटी मात्र नभई साँस्कृतिक रूपमै परनिर्भरता र आत्मविस्मृतिको सङ्कटमा फस्न थालेको छ ।
निष्कर्षमा, नेपाली समाज परम्परागत मूल्य र आधुनिक प्रवृत्तिबीचको संवेदनशील मोडमा उभिएको छ, जहाँ सामाजिक सञ्जाल, मिडिया र राजनीति जस्ता क्षेत्रहरूले दिशानिर्देशन गरिरहेका छन् । यस्तो परिवेशमा देखावटीपन नभई शिक्षा, नैतिकता र मौलिक संस्कृतिको प्रवर्द्धन अत्यावश्यक छ । विशेषगरी युवा पुस्ताको सक्रियता, विवेकशील सोच र सांस्कृतिक आत्मगौरवले समाजलाई दीर्घकालीन रूपले सशक्त र आत्मनिर्भर बनाउने आधार तय गर्न सक्छ । जब हामी आफ्नो सांस्कृतिक पहिचानमा गर्व गर्दै सहिष्णुता र सन्तुलित सोचलाई आत्मसाथ गर्छौं, तब मात्र हामी सशक्त, विवेकी र आत्मविश्वासी समाज निर्माणतर्फ अग्रसर हुन सक्छौं ।