नेभिगेशन
मंगलबार, भदौ ३०, २०८३

कालापानी क्षेत्र नेपालकै हो भन्ने पर्याप्त प्रमाण छन्, भारतसँग निरन्तर कुरा गर्नुपर्छ

कुनै पनि देशको सिमाना कति हो भन्नका लागि मुख्य गरेर त्यो देशको छिमेकी देशहरूसँगको सन्धि कस्तो छ भन्ने प्रमुख आधार हुन्छ । सुगौली सन्धिमा नेपालको सिमाना कालीनदीसम्म भनेर लेखिएको छ । अहिलेको खास विवाद कालीनदीको मुहान कहाँ हो भन्नेमा हो । 

सुगौली सन्धि हुनु भन्दाअघि सन् १८१५ मा ब्रिटिश इस्ट इन्डिया कम्पनीका मान्छेहरूले गरेको अनुसन्धानमा, उनीहरूले बनाएको नक्सामा, उनीहरूले लेखेको किताबहरूमा कालीनदीको मुहान भनेर लिम्पियाधुरासम्मलाई चिनिन्थ्यो । त्यहाँबाट बगेर आउने नदीलाई कालीनदी हो भनेर उनीहरूको प्रमाणले र त्यो बेलाको नक्साले भन्छ । पछिल्लो पटक भारतले कालीनदीको मुहान भनेर लिम्पियाधुराबाट बग्ने नदीलाई नभई धेरै वर नै आएर अर्को सानो खोल्सामा बग्ने नदीलाई दाबी गरेको छ ।

अहिलेको मुख्य जरो भनेको, मुख्य समस्या भनेको कालीनदीको मुहान कुन हो भन्नेबारेमा नेपालको प्रमाण र भारतले भन्ने दाबीमा नै फरक भएको कारणले विवाद आइरहेको हो । यसको समाधानका लागि भारतसँग र नेपालसँग कस्तो–कस्तो खालको प्रमाण छ भनेर आ–आफ्नो प्रमाण जुटाएर कूटनीतिक तवरमै वार्ता गरेर यो समस्या समाधान गर्नुपर्ने हो, त्यो भइराखेको छैन ।

पहिलो प्रमाण भनेको सुगौली सन्धि नै हो । सुगौली सन्धिभन्दा अगाडिका नक्साहरूदेखि लिएर अरू विभिन्न खालको प्रतिवेदनहरू पनि छन् । सुगौली सन्धि पछाडि पनि विभिन्न समयमा विभिन्न नक्साहरू जारी भएको छ जुन अन्तर्राष्ट्रिय पुस्तकालयहरूमा छ । नेपाल सरकारसँग पनि विभिन्न प्रकारका प्रमाणहरू छन्  । नेपाल सरकारसँग त्यहाँको जग्गाको लालपुर्जा पनि छ भन्ने कुराहरू छ । त्यसैगरी वरिष्ठ पत्रकार भैरव रिसालले २०२८ सालमा आफूले नै त्यो ठाउँको जनगणना गरेको भन्नुभएको थियो । त्यो जनगणनामा त्यहाँका बासिन्दाहरूलाई समेटिएको छ ।

२०१५ सालमा भएको नेपालको आमचुनावमा त्यहाँको नागरिकले मतदान गरेको, उनीहरूको नाम मतदाता नामावलीमा भएको भन्नेदेखि लिएर अरू विभिन्न प्रकारका प्रमाणहरू पनि छन् । ती प्रमाणहरू खोजी गरेर ती प्रमाणकै आधारमा भारतसँग हामीले पहिलो कूटनीतिक तवरमा वार्ता गर्नुपर्छ । त्रिदेशीय नाका पनि भएकाले चीनसँग पनि शुरूमा दुईपक्षीय रूपमा वार्ता गर्ने र त्यस पछाडि भारत, नेपाल र चीन बसेर यो समस्या समाधानका लागि आ–आफ्नो प्रमाणको आधारमा कुराकानी गर्न सकिन्छ ।

सुगौली सन्धि पछाडि नेपालमा राणाशासनको अन्त्य भयो । पछाडि पञ्चायतकाल आयो । त्यसपछि जे–जति सरकारहरू गठन भए, उनीहरूले आफ्नो सरकार टिकाउनका लागि भारतलाई वा चीनलाई नचिढाउने भनेर यो विषयलाई ओझेलमा पारेको वा यो विषयलाई धेरै प्राथमिकता नदिएको देखिन्छ । जबजब विवाद आउँछ नेपालको राजनीतिक दलहरू, सबै सरोकारवालाहरूबाट यसबारेमा बोल्ने, प्रतिक्रिया दिने काम हुन्छ । तर यसलाई निरन्तरता दिने काम हुँदैन । त्यही भएर सन् २०१५ मा भारतले त्यो क्षेत्र आफ्नो भनेर नयाँ नक्सा जारी गर्‍याे ।

सन् २०१९ मा भारतले बाटो नै बनायो । त्यो बेला पनि नेपालले प्रतिक्रिया जनायो, कूटनीतिक पत्रहरू पठाएर विरोध जनायो भारतलाई पनि, चीनलाई पनि । त्यसपछि नेपालका प्रधानमन्त्रीहरूको भारत र चीनको भ्रमण, भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण, चीनका राष्ट्रपतिको नेपाल भ्रमण अथवा अरू उच्च तहको राजनीतिक अथवा कूटनीतिक भ्रमणमा यो कुरा निरन्तर रूपमा उठेन । कुरा नउठेपछि यो समस्याबाट भारत र चीनलाई फाइदा भइरहेको छ, नेपाललाई घाटा भइरहेको छ ।

नेपालले त निरन्तर रूपमा यो विषय उठाउनुपर्‍याे । नेपालको परराष्ट्र मन्त्रालय अथवा नेपाल सरकारसँग एउटा यस्तो निकाय हुनुपर्‍याे, उसको काम भनेको निरन्तर प्रमाणहरू खोजी  गर्ने, सङ्कलन गर्ने र परराष्ट्र मन्त्रालय अथवा नेपाल सरकारलाई प्रतिक्रियाका रूपमा यस्तो–यस्तो प्रमाण छ, नयाँ–नयाँ प्रमाणहरू यस्तो आयो, यसरी वार्ता गर्नु भनेर भन्ने संयन्त्र हुनुपर्थ्याे । सन् २०१५ मा पनि भारत र चीनले यही सम्झौता गरेका थिए, त्यो नाका खोल्ने भनेर । त्यसभन्दाअघि यो विषय नेपाल र भारतबीच मात्रै देखिन्थ्यो । चीनले नेपालसँग सरसल्लाह नै नगरिकन भारतसँग सम्झौता गरिसके पछाडि त्यो अब नेपाल र भारतबीचको मात्रै कुरा भएन ।

भारतको बजार ठूलो भएकाले चीनले नेपालभन्दा पनि त्यहाँबाट धेरै फाइदा लिन पाउँछ । त्यही भएर चीनका लागि नेपालभन्दा भारत त्यस अर्थमा महत्त्वको हुन सक्छ । तर अर्को पक्ष के हो भने नेपाल सानो राष्ट्र भए पनि चीन जुन बेलामा अप्ठ्यारो अवस्थामा थियो त्यो बेला नेपालले चीनलाई धेरै सहयोग पनि गरेको छ । अहिले पो चीनको अर्थतन्त्र बलियो भयो । एकै दिनमा चीनको अर्थतन्त्र बलियो भएको त होइन नि ! जुन बेलामा चीन कमजोर थियो त्यो बेला नेपालले सहयोग गरेको छ, त्यो एउटा पाटो भयो ।

तर मुख्य पाटो भनेको लिपुलेक, कालापानी, लिम्पियाधुराको सिमानाको कुरा छ, त्यहाँको जमिनको बारेमा कुरा छ । त्यसको अकाट्य प्रमाण नेपालसँग छ भने कम्तीमा पनि वार्ता गरेर आ–आफ्नो कुराहरू टेबलमा राखेर एउटा निष्कर्षमा पुग्नुपर्छ । नेपालले कूटनीतिक तरिकाले अथवा राजनीतिक तहमा, उच्च तहमा नै दुवै मित्र राष्ट्रहरूसँग कुराकानी गर्नुपर्छ ।

अब प्रधानमन्त्रीको चीन र भारतको भ्रमण हुँदैछ । त्यो भ्रमणका लागि नेपालले राम्रोसँग गृहकार्य गर्नुपर्‍याे । प्रधानमन्त्रीले संसदमा भएका नेपालका राजनीतिक दलहरू र अरू दलहरूसँग सर्वदलीय बैठकहरू बस्ने, साझा धारणाहरू बनाउने र यो विषयमा नेपाल एकजुट छ भन्ने सन्देश दिन सक्नुपर्छ । चीनमा पनि भारतका प्रधानमन्त्रीसँग साइडलाइनमा भेटवार्ता हुने सम्भावना छ । त्यो साइडलाइन भेटघाटमा पनि अरू विभिन्न विषयहरूसँगै लिपुलेक, लिम्पियाधुरा, कालापानीको विषयमा नेपालको अवस्था यो हो, हामीसँग यस्ता–यस्ता प्रमाण छन् भनेर भन्न सक्नुहुन्छ । त्यसपछि लगत्तै भारतमा हुन लागेको भ्रमण छ, त्यो भ्रमणमा अझ विस्तृत रूपमा तयारी गर्न सकिन्छ । त्यो भ्रमणका एजेन्डाहरूमध्ये एउटा महत्त्वपूर्ण एजेन्डाका रूपमा यो विषयलाई पनि अगाडि राखेर कुराकानी गर्न सक्नुहुन्छ । यसभन्दा अगाडि पनि यस्तो नभएको चाहिँ होइन ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि नेपाल र भारतबीच रहेका सीमा विवाद समाधान गर्नका लागि त्यो बेलामा परराष्ट्र सचिव स्तरमा काम गर्ने भनेर प्रधानमन्त्रीको तहबाट परराष्ट्र सचिवको तहमा निर्देशन दिने काम भएको थियो । तर परराष्ट्र सचिव तहको बैठक कहिल्यै पनि बसेन । त्यसले सीमाको विषयमा कुनै काम गर्न सकेन । अहिले हामीसँग संयन्त्र नै नभएको होइन । हामीसँग विभिन्न खालको संयन्त्र छ । परराष्ट्र सचिवको तहमा छ, प्राविधिक कमिटी पनि छ ।

नेपालको कालापानी, लिपुलेकसँग मात्रै होइन भारतसँगको सीमा विवाद सुस्तादेखि लिएर अरू विभिन्न ७२ भन्दा बढी ठाउँमा छन् । सबै विवाद समाधानका लागि विभिन्न तरिकाहरू हुन सक्छ । प्राविधिक कमिटी हुन सक्छ, त्यो कमिटीहरू विस्तार गरेर वार्ता गर्नुपर्छ भन्ने एउटा पाटो हो । अर्को पाटोको कुरा के हो भने यो समस्या समाधानका लागि भारतले सकेसम्म वार्ताको टेबलमा आउनै नचाहने देखिएको छ । किनभने सन् २०१५ मा पनि नेपालले दुवै राष्ट्र भारत र चीनलाई कुटनीतिक पत्र पठायो ।

सन् २०१९ मा नेपालले भारतलाई विभिन्न तहमा वार्ता गर्नका लागि पत्रहरू पठायो । भारतले कहिल्यै पनि प्रतिक्रिया जनाएन । भारतलाई वार्ताको टेबलमा ल्याउन विभिन्न तहबाट पहल हुनुपर्छ । अब सबैभन्दा पहिले प्रधानमन्त्रीको भ्रमणको बेलामा राजनीतिक र कूटनीतिक तहमा वार्ता गर्नका लागि कमिटी गठन गर्ने हो कि के गर्ने हो त्यसमा केन्द्रित हुनुपर्छ । त्यति गर्दा पनि भारत नेपालसँग सीमा समस्या समाधानका लागि वार्ताको टेबलमा नआउने खालको अवस्था भयो भने त्यसलाई नेपालको घरेलु राजनीतिक तहमा, अन्तर्राष्ट्रिय फोरमहरूमा अथवा राष्ट्रसङ्घसम्म पुर्‍याएर पनि दबाव दिनुपर्छ ।

भारतका कतिपय राजनीतिक दल, राजनीतिक पार्टीका नेताहरू तथा विगतका केही प्रधानमन्त्रीहरू नेपालप्रति नरम विचार राख्नेहरू पनि हुनुहुन्छ । नेपाल हाम्रो मित्र राष्ट्र हो, नेपालसँग हामीले राम्रो खालको सम्बन्ध राख्नुपर्छ, हामीले नेपाललाई जति सहयोग गर्छाैँ नेपालबाट त्यही तहमा हामीले सहयोगको आशा गर्नु हुँदैन भन्ने खालका व्यक्तिहरू पनि हुनुहुन्छ । अब अहिले नरेन्द्र मोदीको सरकार छ । मोदीको कार्यकाल सधैँ नरहन पनि सक्छ । अबको चुनावमा उहाँबाहेक अरू मानिसहरू पनि त्यो तहमा आउन सक्नुहुन्छ जसले नेपालका लागि नरम विचार राख्ने, पोजिसन राख्ने खालको हुन सक्छ ।

तर कुरा के हो भने नेपालले आफ्नो राष्ट्रिय राजनीतिमा अथवा भारतसँग वार्ता गर्ने क्रममा यो विषयलाई छोड्न भएन । सीमाको विषयलाई निरन्तर उठाउन सकेमा एउटा तहको दबाव सिर्जना हुन्छ । एउटा विन्दुमा ल है नेपालले साह्रै गर्न थाल्यो, अब चाहिँ वार्ता गर्नुपर्‍याे भनेर भारतलाई पनि दबाव सिर्जना हुन सक्छ । 

(अन्तर्राष्ट्रिय सम्बन्धका जानकार उपप्रध्यापक खनालसँगको कुराकानीमा आधारित ।)

प्रकाशित मिति:
थप विचार