नेभिगेशन

४० हजार शब्दको खस भाषाको शब्दकोश ‘खसिया आखर’ लोकार्पण

जुम्ली – खस भाषामा लेखिएको ४० हजार शब्दको शब्दकोश ‘खसिया आखर’ लोकार्पण भएको छ ।

खसिया आखरका प्रधानसम्पादक ७८ वर्षीय रमानन्द आचार्यले तयार पार्नुभएकाे शब्दकाेशकाे नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा कर्णाली सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठसहित भाषा विज्ञले लोकार्पण गर्नुभएको हो ।

१ हजार ३४० पृष्ठको खस भाषाको शब्दकोशका लागि जुम्लाको चन्दननाथ नगरपालिका–१ निवासी आचार्य २०६५ सालदेखि लाग्नुभएको थियो । यो शब्दकाेश खस भाषाको महत्त्वपूर्ण दस्तावेजका रूपमा रहेको छ । सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशको सहयोगमा शब्दकाेश प्रकाशन भएको हो ।

कर्णालीका सामाजिक विकासमन्त्री भण्डारीले खस भाषा सकिएको छैन भन्ने उदाहरण यो शब्दकाेशले दिएको बताउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति श्रेष्ठले २०३७ सालमा कर्णाली पुग्दा खस भाषा थाहा पाएको र लिखित दस्तावेज अहिले पाएकोमा आचार्यलाई धन्यवाद व्यक्त गर्नुभयो ।

सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले खस भाषाको दस्तावेज नहुँदा विद्यालयको पाठ्यक्रमसमेत बन्न कठिन भएकोमा अब ‘खसिया आखर’ ले सहयोग पुग्ने बताउनुभयो ।

प्रकाशित मिति:
थप समाज