नेभिगेशन

खोपले निमोनियाको जोखिम कम गर्छ, तर ज्येष्ठ नागरिकलाई निःशुल्क गर्न सकिएको छैन

जाडोको यो बेला दिन प्रतिदिन चिसो बढ्दैछ  । यो समयमा बालबालिका र ज्येष्ठ  नागरिकलाई निमोनियाको जोखिम हुन सक्छ । छाती वा फोक्सोमा सङ्क्रमण बढ्दा निमोनिया हुन्छ ।

कुनै पनि कीटाणु, जीवाणु वा विषाणुले फोक्सोमा असर गरेपछि निमोनिया हुन्छ । यसले ज्वरो आउने, सास फेर्न गाह्रो हुने, स्वाँस्वाँ हुने, खोकी लाग्नेजस्ता लक्षण देखा पर्छ । यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्ने भए पनि नवजात शिशु, पाँच वर्षमुनिका बालबालिका र ज्येष्ठ नागरिकमा जोखिम धेरै हुन्छ ।

पाँच वर्षमुनिका बालबालिकामा ज्यान जाने प्रमुख तीन कारकमध्ये निमोनिया मुख्यमा पर्छ । दादुरा, लहरेखोकी, रुबेलालगायतका रोगको जटिलताका कारण पनि निमोनिया हुन सक्ने भएकाले यी रोगविरुद्ध बालबालिकालाई खोप दिने गरिएको छ ।

निमोनिया विभिन्न कारणले भए पनि उमेरअनुसार कारक तत्त्व फरक हुन्छ । ब्याक्टेरिया, भाइरस र फङ्गसका कारण निमोनिया हुन्छ । शुरूमा रुघाखोकी लाग्ने र त्यसपछि निमोनिया हुन सक्छ । बालबालिकामा निमोनियाको खोप दिन थालेपछि यो रोग देखा परेर अस्पतालमा भर्ना हुने दरमा कमी हुन थालेको छ ।

आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कअनुसार पाँच वर्षमुनिका एक हजार बालबालिकामध्ये ३४ जनामा निमोनिया देखा परेको छ । निमोनियाविरुद्धको खोप लगाएकामा यो रोग देखिने सम्भावना न्यून छ । प्रमुख कारक तत्त्वलाई लक्षित गरि पाँच वर्षमुनिका बालबालिकालाई ६ पटक खोप दिने गरिएको छ । भौगोलिक वा अरू कारणले बालबालिकामा खोप छुटेको भए पनि पूर्ण खोप कार्यक्रममार्फत घरदैलोमा गइ अभियान सञ्चालन गर्ने गरेका छौँ ।

यो त भयो बालबालिकाको कुरा । तर निमोनियाको जोखिममा बालबालिका मात्र नभइ दीर्घरोगी र ज्येष्ठ नागरिक पनि छन् । यो समूहलाई पनि खोपको आवश्यकता छ, तर खोपको व्यवस्था गर्न सकिएको छैन । ज्येष्ठ नागरिकमा रोगसँग लड्ने क्षमतामा कमी हुँदै जान्छ । त्यसमाथि दीर्घरोगीलाई कीटाणुले आक्रमण गर्ने दर पनि बढी हुन्छ र निमोनिया भएर आईसीयूमा भर्ना गर्नुपर्ने र कतिपयको त ज्यानै जाने पनि गरेको छ ।

जाडो मौसममा निमोनिया लाग्ने जोखिम बढेका कारण ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउनु आवश्यक छ । ब्याक्टेरियल निमोनियाविरुद्वको खोप ६५ वर्ष नाघेकाले एक पटक मात्र लगाए पनि पुग्छ । दुई मात्रा लिएकालाई जीवनभर पुग्छ । दमलगायत रोगले सताएका बिरामीलाई निमोनियाको जोखिम धेरै हुन्छ । फोक्सो, मुटु, कलेजोको रोग, मधुमेह, क्यान्सरजस्ता दीर्घरोगीमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले त झन् निमोनियाको खोप लिनैपर्छ  ।

निमोनिया चिसो मौसममा सबैभन्दा धेरै देखा पर्ने रोग हो । बालबालिका र ज्येष्ठ नागरिक यसको जोखिममा रहन्छ । यसको कारक तत्त्व हाम्रै समाज वरपर छन् । रोगसँग लड्ने क्षमता कमजोर भएका जोखिम समूहलाई निमोनियाविरुद्धको खोप दिने र पोषणयुक्त खानपिन, सरसफाइमा ध्यान दिनुपर्छ ।

साथै रुघाखोकीलगायतका सङ्क्रामक रोग लागेका व्यक्तिले दुरी कायम गर्ने अर्थात् बालबालिका र ज्येष्ठ नागरिकलाई सुरक्षित बनाउनेलगायतका नियम पालना गरेर निमोनियाबाट जोगाउन सकिन्छ ।  बालबालिकालाई र ज्येष्ठ नागरिकलाई दिने खोप फरक हुन्छ । किनकि बालबालिका र ज्येष्ठ नागरिकलाई निमोनिया गराउने कारक तत्त्व फरक फरक हुन्छ ।

अस्पताल वा स्वास्थ्य क्लिनिकहरूमा निमोनियाविरुद्धको खोप लगाउन सकिन्छ । यो खोप एक पटक लगाएकाहरूलाई दोहोर्याउन नपर्ने र प्रभावकारी पनि छ । ज्येष्ठ नागरिकका लागि निमोनियाविरुद्धको खोप दिनेबारे सङ्घीय सरकारको कार्यक्रम नभए पनि केही पालिकाहरूले भने शुरू गरेका छन् । ललितपुर महानगरपालिकाले गएको तीन वर्षदेखि ज्येष्ठ नागरिकका लागि निमोनियाविरुद्धको खोप दिन थालेको छ ।

ज्येष्ठ नागरिकका लागि खोप दिने विषय सरकारको राष्ट्रिय खोप रणनीतिमा समावेश भएको छ । तर निःशुल्क खोप अभियान सञ्चालन भएको छैन । खोप कार्यक्रम सञ्चालन गर्नेबारेमा खोप ऐन र संविधानमा पनि उल्लेख भएको छ । सङ्घीय सरकारले सबै खोप  सुनिश्चित गर्ने र पालिकाहरूले कार्यान्वयन गर्ने भन्ने उल्लेख छ । 

राष्ट्रिय खोप सल्लाहकार समितिसँग सिफारिश लिएर पालिकाहरूले ज्येष्ठ नागरिकका लागि खोप कार्यक्रम सञ्चालन गर्न सक्छन्, कतिपय पालिकाहरूले यस्तो गरेको पाइँदैन । खोपको गुणस्तर, सुरक्षित भण्डारण गर्ने क्षमता तथा मापन संयन्त्रबारेमा राम्रो तयारी गरेर मात्रै खोप कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

सङ्घीय सरकारले खोप सुनिश्चित गर्ने र पालिकाहरूले कार्यान्वयन गर्ने हो । तर केही पालिकाहरूले आफैँले निमोनियाविरुद्धको खोप कार्यक्रम चलाउँदा र सङ्घसँग समन्वय नहुँदा खोपको गुणस्तर, सुरक्षा र मापन संयन्त्रमा कमी हुने जोखिम रहन्छ । त्यसैले पालिकाहरूले राष्ट्रिय खोप सल्लाहकार समितिसँग सिफारिश लिएर मात्र खोप कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

(स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा. अभियान गौतमसँग सम्झना महर्जनले गरेको कुराकानीमा आधारित ।)
 

प्रकाशित मिति:
थप विचार