सरकारले निजी तथा सरकारी अस्पतालमा विपन्न तथा गरिब नागरिकका लागि १० प्रतिशत शय्या अनिवार्य रूपमा उपलब्ध गराउने व्यवस्था विगतदेखि नै लागू गरेको भए पनि यसको कार्यान्वयनमा विभिन्न चुनौतीहरू देखिएका थिए । अहिले स्वास्थ्य मन्त्रालयले यस व्यवस्थालाई कडाइका साथ लागू गर्ने गरी अघि बढेको छ ।
यसअन्तर्गत अब सबै अस्पतालहरूले दिएका सेवाको विवरण सार्वजनिक रूपमा उपलब्ध हुने व्यवस्था गरिएको छ । स्वास्थ्य मन्त्रालयको वेबसाइटमा अस्पतालअनुसार कुल शय्या संख्या र विपन्न नागरिकले पाएको सेवाको विवरण सहजै हेर्न सकिन्छ जसले पारदर्शिता र उत्तरदायित्व बढाउने अपेक्षा गरिएको छ ।
अहिले कार्यविधिअनुसार १० प्रतिशत शय्या अनिवार्य गरिएको छ भने आवश्यकताअनुसार यसलाई समयसापेक्ष परिमार्जन गर्दै जाने हो ।
विपन्न नागरिक पहिचानका लागि पालिकाको सिफारिशलाई आधार बनाइएको छ । जहाँ गरिब परिचयपत्र उपलब्ध छ त्यहाँ त्यसकै आधार प्रयोग गरिन्छ भने परिचयपत्र नभएका ठाउँमा पालिकाको सिफारिशमार्फत सेवा उपलब्ध गराइन्छ । यसरी आर्थिक रूपमा कमजोर नागरिकलाई स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्य राखिएको छ ।
यो व्यवस्था सरकारी र निजी दुवै अस्पतालमा लागू हुने भए पनि १० प्रतिशत शय्या अनिवार्य गर्ने प्रावधान मुख्यतः निजी अस्पताललाई लक्षित हो । यसको उद्देश्य स्पष्ट छ—पैसा नभएकै कारणले विपन्न नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा लिन नपाउने अवस्थाको अन्त्य गर्नु । यसपछि विपन्नले सरकारी मात्रै होइन निजी अस्पतालमा पनि सहज रूपमा सेवा पाउन सक्नेछन् ।
सरकारले यो व्यवस्था लागू गर्न देशभरका अस्पतालहरूलाई समेट्ने तयारी गरिरहेको छ । यसका लागि अनुगमन प्रणालीलाई थप व्यवस्थित र बलियो बनाइँदैछ । निजी अस्पतालहरूलाई अतिरिक्त भार पर्ने गरी नयाँ नियम थप्ने भन्दा पनि पहिलेदेखिको व्यवस्थालाई सबैले अनिवार्य रूपमा पालना गरून् भन्नेमा जोड दिइएको छ । साथै सेवा दिइएको विवरण सार्वजनिक गरिने भएपछि ‘कागजमा मात्रै सेवा देखाउने’ वा पहुँच र सिफारिशका आधारमा मात्रै सेवा पाइने अवस्थालाई अन्त्य गर्न मद्दत पुग्नेछ ।
पहिले निजी अस्पतालमा सेवा भए पनि महँगो भन्ने धारणा र जानकारी अभावका कारण धेरै विपन्न नागरिक सेवा लिन जाँदैनथे । अब सबै विवरण खुला रूपमा सार्वजनिक हुने भएकाले कसले सेवा पायो, कति जनाले पायो र कुन अस्पतालले कति सेवा दियो भन्ने कुरा स्पष्ट देखिनेछ । यसले अन्योल हटाउने, विश्वास बढाउने र वास्तविक लाभग्राहीलाई सेवा लिन प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।
यो कार्यक्रम पूर्णरूपमा नयाँ होइन तर यसको कार्यान्वयन अहिले पहिलेभन्दा धेरै फरक र प्रभावकारी बनाइँदैछ । विगतमा व्यवस्था हुँदाहुँदै पनि कार्यान्वयन कमजोर थियो तर अहिले सरकार नतिजामुखी, स्पष्ट र पारदर्शी रूपमा काम गर्ने दिशामा अघि बढेको छ ।
अब सबै जानकारी सर्वसाधारणले बुझ्न सक्ने गरी सार्वजनिक गरिनेछ । यसले सेवा उपलब्ध छ कि छैन, कसले पायो वा पाएन भन्ने कुरा स्पष्ट देखिने बनाउँछ । पहिले ‘सेवा छ तर लिन कोही आएन’ भन्ने वा ‘व्यवस्था नै छैन’ भन्ने अन्योल थियो, अब यस्तो द्विविधा हट्नेछ । सबै तथ्याङ्क एकीकृत रूपमा सार्वजनिक हुँदा जनविश्वास बढ्ने अपेक्षा गरिएको छ ।
सरकार र स्वास्थ्य मन्त्रालय यसलाई कडाइका साथ लागू गर्न प्रतिबद्ध छन् । निजी अस्पतालहरूले पनि सहकार्य गर्ने बताएका छन् जसले कार्यान्वयनलाई अझ सहज बनाउनेछ । त्यसैले यो योजना कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने चिन्ता आवश्यक छैन ।
यस व्यवस्थामा कुनै पनि प्रकारको भेदभाव स्वीकार्य हुँदैन । सबैलाई समान र सहज रूपमा सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । यदि कुनै अस्पतालले विभेद गरेको वा सेवा नदिएको गुनासो आएमा त्यसका लागि स्पष्ट गुनासो संयन्त्र तयार गरिएको छ ।
बिरामीले अस्पतालमै गुनासो गर्न सक्छन् । त्यहाँ समाधान नभएमा प्रदेश मन्त्रालय वा स्वास्थ्य मन्त्रालयमा जानकारी गराउन सकिन्छ । मन्त्रालयको कल सेन्टर, इमेल तथा अन्य माध्यममार्फत सीधै गुनासो गर्न सकिनेछ र त्यस्ता गुनासाहरूको छिटो समाधान गर्ने व्यवस्था गरिएको छ ।
यो व्यवस्थाले स्वास्थ्य सेवामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ । पहिले खर्चकै कारण नजिकै रहेका ठूला निजी अस्पतालमा जान डराउने विपन्न नागरिकले अब त्यहीँबाट सेवा लिन सक्नेछन् । १० प्रतिशत सेवा आफूहरूका लागि सुरक्षित छ भन्ने विश्वासले उनीहरूलाई सहज बनाउनेछ । यसले सस्तो उपचारको खोजीमा टाढा जानुपर्ने बाध्यता पनि अन्त्य गर्नेछ र घर नजिकै गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण सिर्जना हुनेछ ।
(स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीसँगको कुराकानीमा आधारित)