नेभिगेशन
मंगलबार, भदौ ३०, २०८३

‘एल निनो’ को प्रभावले नेपालमा चरम मौसमी घटनाको जोखिम हुन सक्छ

स्पेनी भाषाको ‘एल निनो’ शब्दको शाब्दिक अर्थ ‘सानो केटो’ भन्ने हो, तर यसले ल्याउने असर भने साना होइनन् । अस्ट्रेलियाको डार्विनदेखि इन्डोनेसियासम्मको प्रशान्त महासागरको सतह असामान्य रूपमा तात्दा यो अवस्था सिर्जना हुन्छ । समुद्री सतहको तापक्रम १ देखि २ डिग्री सेल्सियसले बढ्यो भने यसलाई सामान्य ‘एल निनो’ भनिन्छ भने २ देखि ३ डिग्रीसम्म बढ्यो भने त्यसलाई ‘सुपर एल निनो’ भनिन्छ । 

विशेष गरी सेप्टेम्बर–अक्टोबरतिर ‘एल निनो’ सक्रिय हुने सम्भावना बढेको वैज्ञानिकहरूको आकलन छ । यदि त्यस्तो भयो भने दशैँ, तिहारको समयमा नेपालमा फेरि ठूलो वर्षा हुन सक्ने सम्भावना रहन्छ । 

यसपालि वैज्ञानिकहरूले ठ्याक्कै यही दोस्रो अवस्था अर्थात् ‘सुपर एल निनो’ हुन सक्ने चेतावनी दिइरहेका छन् जसले गर्दा एशियाली क्षेत्र सामान्यतया निकै सुक्खा हुने र दक्षिण अमेरिकातर्फ भने ठूलो वर्षा हुने प्रवृत्ति देखिन्छ । यसको ठीक विपरीत अवस्था ‘ल्यानिना’ हो जसमा एशियामा बाढी र दक्षिण अमेरिकामा खडेरी हुने गर्छ । यी दुई अवस्था सामान्यतया १ देखि ३ वर्षको फरकमा, कहिलेकाहीँ ७ वर्षसम्मको फरकमा पनि ‘शिफ्ट’ हुँदै आएका छन् । नेपालमा संविधान जारी भएको वर्ष अर्थात् २०७२ सालमा पनि यस्तै ‘एल निनो’ को अवस्था थियो जुन वर्ष देशभर आगलागीका घटना उल्लेख्य रूपमा बढेका थिए ।

‘एल निनो’ को असरलाई हिन्द महासागरको तापक्रमको अवस्थाले पनि थोरै हेरफेर गर्न सक्छ । हिन्द महासागर डाइपोल (आईओडी) भनिने यो द्विध्रुवीय प्रणाली अहिले ‘न्युट्रल’ अवस्थामा रहेको र जुलाईसम्म पनि यस्तै रहने प्रक्षेपण छ । तर मनसुनको अन्त्यतिर, विशेष गरी सेप्टेम्बर–अक्टोबरतिर यो सक्रिय हुने सम्भावना बढेको वैज्ञानिकहरूको आकलन छ । यदि त्यस्तो भयो भने दशैँ, तिहारको समयमा नेपालमा फेरि ठूलो वर्षा हुन सक्ने सम्भावना रहन्छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष नेपालमा औसतभन्दा कम वर्षा हुने पूर्वानुमान गरिसकेको छ । तर यसको अर्थ पानी नै नपर्ने भन्ने भने होइन । वर्षा औसतभन्दा कम हुने तर परेको दिन भने धेरै नै पर्न सक्ने, बीचमा लामो खडेरीजस्तो अवस्था रहने र त्यसपछि फेरि पानी पर्ने खालको असङ्गत ढाँचा देखिने प्रवृत्ति रहन्छ । सामान्यतया वर्षा याममा नेपालमा औसत १ हजार ४७० मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्ष त्योभन्दा केही कम हुने आकलन छ । यो असर पनि प्रदेशअनुसार भिन्न रहन्छ, जस्तै– लुम्बिनी प्रदेशमा औसतभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको देखिन्छ भने कोशी र सुदूरपश्चिम प्रदेशको अवस्था फरक छ ।

व्यवहारमा हेर्दा समुद्रबाट आउने जलवाष्पयुक्त हावा एकनासको र बलियो नहुँदा स्थानीय स्तरमा वर्षाको ढाँचा असङ्गत हुने गरेको छ । कुनै ठाउँमा ठूलो वर्षा त कुनै ठाउँमा हल्का मात्र वर्षा हुने, कतै लगातार धेरै दिनसम्म सुक्खा रहने त कतै छोटो समयमै बाढीको अवस्था बन्ने खालको प्रवृत्ति यति बेला देशभर देखिइरहेको छ । यसको एउटा उदाहरणका रूपमा बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणालीले नेपालका विभिन्न भागमा असमान वर्षा गराइरहेको अवस्थालाई लिन सकिन्छ ।

वर्षाको असङ्गत ढाँचाले बाढी, पहिरो र खहरे खोलाको जोखिम बढाउँछ । विद्यालयबाट घर फर्किने विद्यार्थीले खहरे तर्नुपर्दा बगेर जाने, सडकमा माथिबाट ढुङ्गा खसेर गाडीमा क्षति पुग्ने र यात्रुहरू नै जोखिममा पर्ने घटनाहरू विगतमा पनि देखिइसकेका छन् । सडक पूर्वाधार कमजोर हुनु यसको एउटा प्रमुख कारण हो । शहरी क्षेत्रमा डुबानको समस्या पनि उत्तिकै गम्भीर छ । काठमाण्डौमा जम्मा ३० देखि ४० मिलिमिटर वर्षा हुँदा नै धेरै ठाउँ जलमग्न हुने गरेको छ भने रोशी खोलामा ४० देखि ५० मिलिमिटर वर्षामै बाढी आउने गरेको छ । यसले के देखाउँछ भने वर्षाको ‘थ्रेसहोल्ड’ वा सहन क्षमता नै धेरै ठाउँमा घटिसकेको छ, त्यसैले औसतभन्दा कम वर्षा हुँदैमा जोखिम पनि कम हुन्छ भन्ने ठान्नु उपयुक्त हुँदैन ।

कृषि क्षेत्रमा यसको दोहोरो मार पर्न सक्छ । पानी नपर्दा रोपाइँ नै हुन नसक्ने अवस्था बन्छ, जबकि नेपालको मुख्य खाद्यवस्तु धानको उत्पादनका लागि समयमै पानी अनिवार्य हुन्छ । अर्कोतर्फ काट्ने बेलामा नै अत्यधिक पानी प र्‍यो भने बालीलाई नै बगाउने खतरा रहन्छ । रोपाइँको सिजनमा चट्याङको जोखिम पनि उत्तिकै उल्लेखनीय छ, किनकि गड्याङगुडुङ हुने बेला खेतको भिजेको जमिनमा उभिनु जोखिमपूर्ण मानिन्छ । 

वैज्ञानिकहरूको आँकलनअनुसार यसपालिको ‘एल निनो’ अवस्था ९ महिनादेखि १२ महिनासम्म रहने प्रक्षेपण छ । यसको अर्थ यो असर केवल यही वर्षा याममा मात्र सीमित नभई आउँदा महिनाहरूसम्म पनि विस्तारित रहन सक्छ ।

देशभरका ७५३ पालिकामार्फत जोखिमसम्बन्धी सूचना नागरिकसम्म पु र्‍याउनु आवश्यक रहेको छ । खेती प्रणालीमा पर्ने असर होस् वा खहरेजन्य जोखिम, यी सबै जानकारी समयमै नागरिकसम्म पुगेमा मात्र क्षति न्यूनीकरण सम्भव हुन्छ । बाढी बीमाजस्ता सुरक्षा उपायलाई प्रोत्साहन दिनु, विद्यालयस्तरमै विपद् सचेतना कार्यक्रम सञ्चालन गर्नु र सम्भव भए विपद् व्यवस्थापनलाई पाठ्यक्रमकै हिस्सा बनाउनु उपयुक्त देखिन्छ । बाढी आउने खोलामा मोटरसाइकल वा गाडी जबरजस्ती हाल्नु कति जोखिमपूर्ण हुन्छ भन्ने बुझाइ हुनु जरुरी छ । रोशी खोलामा बाढी आउँदा धेरै बसहरू जबरजस्ती खोलामा हालिँदा क्षति पुगेको उदाहरण छ ।

यस सन्दर्भमा राज्यले मात्र सबै काम गर्न सक्छ भन्ने अपेक्षा राख्नु व्यावहारिक हुँदैन । व्यक्ति स्वयंको सतर्कता र सही सूचनाको महत्त्व त्यत्तिकै ठूलो हुन्छ । सञ्चारमाध्यमले पनि सूचना प्रसारण गर्नु आवश्यक छ, किनभने गलत सूचना वा हल्लाले समाजमा अनावश्यक भ्रम मात्र फैलाउँछ । यसरी हेर्दा ‘एल निनो’ केवल मौसमी घटना मात्र नभई यसले कृषि, स्वास्थ्य, पूर्वाधार र दैनिक जनजीवनसम्मलाई छुने बहुआयामिक चुनौती खडा गरेको देखिन्छ जसको सामना गर्न सरकार, पालिका र नागरिक सबैको साझा तयारी आवश्यक रहेको छ ।

(जलवायु विज्ञ धर्मराज उप्रेतीसँग महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)
 

प्रकाशित मिति:
थप विचार