नेभिगेशन

‘एल निनो’ को प्रभावले नेपालमा चरम मौसमी घटनाको जोखिम हुन सक्छ

स्पेनी भाषाको ‘एल निनो’ शब्दको शाब्दिक अर्थ ‘सानो केटो’ भन्ने हो, तर यसले ल्याउने असर भने साना होइनन् । अस्ट्रेलियाको डार्विनदेखि इन्डोनेसियासम्मको प्रशान्त महासागरको सतह असामान्य रूपमा तात्दा यो अवस्था सिर्जना हुन्छ । समुद्री सतहको तापक्रम १ देखि २ डिग्री सेल्सियसले बढ्यो भने यसलाई सामान्य ‘एल निनो’ भनिन्छ भने २ देखि ३ डिग्रीसम्म बढ्यो भने त्यसलाई ‘सुपर एल निनो’ भनिन्छ । 

विशेष गरी सेप्टेम्बर–अक्टोबरतिर ‘एल निनो’ सक्रिय हुने सम्भावना बढेको वैज्ञानिकहरूको आकलन छ । यदि त्यस्तो भयो भने दशैँ, तिहारको समयमा नेपालमा फेरि ठूलो वर्षा हुन सक्ने सम्भावना रहन्छ । 

यसपालि वैज्ञानिकहरूले ठ्याक्कै यही दोस्रो अवस्था अर्थात् ‘सुपर एल निनो’ हुन सक्ने चेतावनी दिइरहेका छन् जसले गर्दा एशियाली क्षेत्र सामान्यतया निकै सुक्खा हुने र दक्षिण अमेरिकातर्फ भने ठूलो वर्षा हुने प्रवृत्ति देखिन्छ । यसको ठीक विपरीत अवस्था ‘ल्यानिना’ हो जसमा एशियामा बाढी र दक्षिण अमेरिकामा खडेरी हुने गर्छ । यी दुई अवस्था सामान्यतया १ देखि ३ वर्षको फरकमा, कहिलेकाहीँ ७ वर्षसम्मको फरकमा पनि ‘शिफ्ट’ हुँदै आएका छन् । नेपालमा संविधान जारी भएको वर्ष अर्थात् २०७२ सालमा पनि यस्तै ‘एल निनो’ को अवस्था थियो जुन वर्ष देशभर आगलागीका घटना उल्लेख्य रूपमा बढेका थिए ।

‘एल निनो’ को असरलाई हिन्द महासागरको तापक्रमको अवस्थाले पनि थोरै हेरफेर गर्न सक्छ । हिन्द महासागर डाइपोल (आईओडी) भनिने यो द्विध्रुवीय प्रणाली अहिले ‘न्युट्रल’ अवस्थामा रहेको र जुलाईसम्म पनि यस्तै रहने प्रक्षेपण छ । तर मनसुनको अन्त्यतिर, विशेष गरी सेप्टेम्बर–अक्टोबरतिर यो सक्रिय हुने सम्भावना बढेको वैज्ञानिकहरूको आकलन छ । यदि त्यस्तो भयो भने दशैँ, तिहारको समयमा नेपालमा फेरि ठूलो वर्षा हुन सक्ने सम्भावना रहन्छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष नेपालमा औसतभन्दा कम वर्षा हुने पूर्वानुमान गरिसकेको छ । तर यसको अर्थ पानी नै नपर्ने भन्ने भने होइन । वर्षा औसतभन्दा कम हुने तर परेको दिन भने धेरै नै पर्न सक्ने, बीचमा लामो खडेरीजस्तो अवस्था रहने र त्यसपछि फेरि पानी पर्ने खालको असङ्गत ढाँचा देखिने प्रवृत्ति रहन्छ । सामान्यतया वर्षा याममा नेपालमा औसत १ हजार ४७० मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्ष त्योभन्दा केही कम हुने आकलन छ । यो असर पनि प्रदेशअनुसार भिन्न रहन्छ, जस्तै– लुम्बिनी प्रदेशमा औसतभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको देखिन्छ भने कोशी र सुदूरपश्चिम प्रदेशको अवस्था फरक छ ।

व्यवहारमा हेर्दा समुद्रबाट आउने जलवाष्पयुक्त हावा एकनासको र बलियो नहुँदा स्थानीय स्तरमा वर्षाको ढाँचा असङ्गत हुने गरेको छ । कुनै ठाउँमा ठूलो वर्षा त कुनै ठाउँमा हल्का मात्र वर्षा हुने, कतै लगातार धेरै दिनसम्म सुक्खा रहने त कतै छोटो समयमै बाढीको अवस्था बन्ने खालको प्रवृत्ति यति बेला देशभर देखिइरहेको छ । यसको एउटा उदाहरणका रूपमा बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणालीले नेपालका विभिन्न भागमा असमान वर्षा गराइरहेको अवस्थालाई लिन सकिन्छ ।

वर्षाको असङ्गत ढाँचाले बाढी, पहिरो र खहरे खोलाको जोखिम बढाउँछ । विद्यालयबाट घर फर्किने विद्यार्थीले खहरे तर्नुपर्दा बगेर जाने, सडकमा माथिबाट ढुङ्गा खसेर गाडीमा क्षति पुग्ने र यात्रुहरू नै जोखिममा पर्ने घटनाहरू विगतमा पनि देखिइसकेका छन् । सडक पूर्वाधार कमजोर हुनु यसको एउटा प्रमुख कारण हो । शहरी क्षेत्रमा डुबानको समस्या पनि उत्तिकै गम्भीर छ । काठमाण्डौमा जम्मा ३० देखि ४० मिलिमिटर वर्षा हुँदा नै धेरै ठाउँ जलमग्न हुने गरेको छ भने रोशी खोलामा ४० देखि ५० मिलिमिटर वर्षामै बाढी आउने गरेको छ । यसले के देखाउँछ भने वर्षाको ‘थ्रेसहोल्ड’ वा सहन क्षमता नै धेरै ठाउँमा घटिसकेको छ, त्यसैले औसतभन्दा कम वर्षा हुँदैमा जोखिम पनि कम हुन्छ भन्ने ठान्नु उपयुक्त हुँदैन ।

कृषि क्षेत्रमा यसको दोहोरो मार पर्न सक्छ । पानी नपर्दा रोपाइँ नै हुन नसक्ने अवस्था बन्छ, जबकि नेपालको मुख्य खाद्यवस्तु धानको उत्पादनका लागि समयमै पानी अनिवार्य हुन्छ । अर्कोतर्फ काट्ने बेलामा नै अत्यधिक पानी प र्‍यो भने बालीलाई नै बगाउने खतरा रहन्छ । रोपाइँको सिजनमा चट्याङको जोखिम पनि उत्तिकै उल्लेखनीय छ, किनकि गड्याङगुडुङ हुने बेला खेतको भिजेको जमिनमा उभिनु जोखिमपूर्ण मानिन्छ । 

वैज्ञानिकहरूको आँकलनअनुसार यसपालिको ‘एल निनो’ अवस्था ९ महिनादेखि १२ महिनासम्म रहने प्रक्षेपण छ । यसको अर्थ यो असर केवल यही वर्षा याममा मात्र सीमित नभई आउँदा महिनाहरूसम्म पनि विस्तारित रहन सक्छ ।

देशभरका ७५३ पालिकामार्फत जोखिमसम्बन्धी सूचना नागरिकसम्म पु र्‍याउनु आवश्यक रहेको छ । खेती प्रणालीमा पर्ने असर होस् वा खहरेजन्य जोखिम, यी सबै जानकारी समयमै नागरिकसम्म पुगेमा मात्र क्षति न्यूनीकरण सम्भव हुन्छ । बाढी बीमाजस्ता सुरक्षा उपायलाई प्रोत्साहन दिनु, विद्यालयस्तरमै विपद् सचेतना कार्यक्रम सञ्चालन गर्नु र सम्भव भए विपद् व्यवस्थापनलाई पाठ्यक्रमकै हिस्सा बनाउनु उपयुक्त देखिन्छ । बाढी आउने खोलामा मोटरसाइकल वा गाडी जबरजस्ती हाल्नु कति जोखिमपूर्ण हुन्छ भन्ने बुझाइ हुनु जरुरी छ । रोशी खोलामा बाढी आउँदा धेरै बसहरू जबरजस्ती खोलामा हालिँदा क्षति पुगेको उदाहरण छ ।

यस सन्दर्भमा राज्यले मात्र सबै काम गर्न सक्छ भन्ने अपेक्षा राख्नु व्यावहारिक हुँदैन । व्यक्ति स्वयंको सतर्कता र सही सूचनाको महत्त्व त्यत्तिकै ठूलो हुन्छ । सञ्चारमाध्यमले पनि सूचना प्रसारण गर्नु आवश्यक छ, किनभने गलत सूचना वा हल्लाले समाजमा अनावश्यक भ्रम मात्र फैलाउँछ । यसरी हेर्दा ‘एल निनो’ केवल मौसमी घटना मात्र नभई यसले कृषि, स्वास्थ्य, पूर्वाधार र दैनिक जनजीवनसम्मलाई छुने बहुआयामिक चुनौती खडा गरेको देखिन्छ जसको सामना गर्न सरकार, पालिका र नागरिक सबैको साझा तयारी आवश्यक रहेको छ ।

(जलवायु विज्ञ धर्मराज उप्रेतीसँग महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)
 

प्रकाशित मिति:
थप विचार