नेभिगेशन

दक्षिण कोरियाको तापक्रम अहिलेसम्मकै उच्च ४२.५ डिग्री सेल्सियस पुग्याे

दक्षिण कोरियाको तापक्रम अहिलेसम्मकै उच्च ४२.५ डिग्री सेल्सियस पुगेको छ । दक्षिण–पूर्वी शहर याङसानमा आज स्थानीय समयअनुसार दिउँसो १ बजेर २६ मिनेटमा अहिलेसम्मकै धेरै तापक्रम मापन भएको सरकारी मौसम निकायलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले  जनाएको छ ।

यो तापक्रम एक शताब्दीभन्दा धेरै समयअघि अभिखेल राख्न थालिएयताकै उच्च हो ।

याङसान शहर अहिले चलिरहेको तातो हावाको लहरको केन्द्रविन्दु बनेको छ, यहाँ आज लगातार पाँचौँ दिन तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको हो ।

दक्षिण कोरियाका धेरैजसो भागमा अत्यधिक गर्मीसम्बन्धी चेतावनी जारी भएको छ र धेरै शहरहरूमा तापक्रम ३० डिग्री सेल्सियसको माथिल्लो विन्दुसम्म पुगेको छ ।

कोरिया मौसम विज्ञान प्रशासन (केएमए) को तथ्याङ्कले सन् १९७० को दशकमा ८ दिन रहेको देशको औसत वार्षिक ‘हिटवेभ’ अर्थात् अत्यधिक गर्मीको लहरको सङ्ख्या विगत ५ वर्षमा दोब्बरभन्दा धेरैले बढेर १९ पुगेको देखाएको छ ।

वैज्ञानिकहरूले मानवीय गतिविधिका कारण हुने जलवायु परिवर्तनका फलस्वरूप तातो हावाको लहरजस्ता चरम मौसमी घटनाहरू अझ बारम्बार र तीव्र हुँदै गइरहेका चेतावनी दिएका छन् ।

प्रकाशित मिति:
थप विश्व